१७ बैशाख २०८२, बुधबार
30 April 2025, Wednesday

ट्रम्प प्रशासनद्वारा १०० दिनमै ३० हजार अवैध आप्रवासी र १,१०० गिरोह सदस्य पक्राउ

ट्रम्प प्रशासनद्वारा १०० दिनमै ३० हजार अवैध आप्रवासी र १,१०० गिरोह सदस्य पक्राउ

वासिङ्टन — राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पुनः सत्तामा फर्किएपछि १०० दिनभित्रै आप्रवासनसम्बन्धी कडा कारबाही थालेको छ। अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) का अनुसार, ३२ हजारभन्दा बढी अवैध आप्रवासी र १,१५५ आपराधिक गिरोहमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

पक्राउ परेकामध्ये १४,१११ जनाको पहिले नै आपराधिक रेकर्ड थियो भने ९,९८० जनाविरुद्ध हाल मुद्दा चलिरहेको छ। त्यस्तै, ३९ जना व्यक्तिहरू आतंकवादमा संलग्न वा शंकास्पद रहेको जनाइएको छ। सन् २०२४ को सोही अवधिमा मात्र १४ जना आतंकवादीहरू पक्राउ परेका थिए।

पूर्व एफबीआई एजेन्ट जोनाथन गिलियमले Fox News Digital सँगको अन्तर्वार्तामा यस्तो कारबाहीले अमेरिकामा अपराधको दर घट्ने विश्वास व्यक्त गरे। “अब यदि अवैध आप्रवासीहरू अमेरिका आउँछन् भने उनीहरूलाई कारबाही हुन्छ, स्वतन्त्र प्रवेश छैन,” उनले भने।

गिलियमले सिमाना सुरक्षा प्रमुख टम होम्यान र आन्तरिक सुरक्षा सचिव क्रिस्टी नोएमको नेतृत्वमा गरिएका कारबाहीले सडकलाई सुरक्षित बनाइरहेको बताए।

पक्राउ परेका एक आप्रवासी केसी रोबिन्सन अलेक्सी बरेरा-रोसा (२४) लाई आफ्नै प्रेमिकाको हत्या अभियोगमा पक्राउ गरिएको हो। उनको प्रेमिका लेस्बिया माइलिथ रामिरेज गुएर्राको शव मेरिल्यान्डस्थित एउटा जङ्गलमा पुरिएको अवस्थामा फेला परेको थियो।

ICE को “Operation Tidal Wave” अन्तर्गत गरिएको अभियानमा करिब ८०० अवैध आप्रवासी पक्राउ परेका छन्। तिनमा एमएस-१३ गिरोह सदस्य, कोलम्बियाका सजाय प्राप्त हत्यारा, इन्टरपोल रेड नोटिससहितका रुसी अपराधी, र १८औं स्ट्रिट गिरोहका सदस्यहरू रहेका छन्।

पुनः प्रवेश प्रतिबन्धको उल्लङ्घन गरी तेस्रो पटक अमेरिका प्रवेश गरेका ग्वाटेमालाका नागरिक राफाएल जुआरेज काब्रेरालाई पनि पक्राउ गरिएको छ।

यसैबीच, विस्कन्सिन राज्यकी न्यायाधीश हन्ना डुगानमाथि ICE को कारबाहीमा अवरोध पु¥याएको आरोप लागेको छ। उनले अवैध आप्रवासीलाई सुरक्षा दिएको आरोपमा “आधिकारिक प्रक्रिया अवरोध” सम्बन्धी मुद्दा दायर गरिएको हो।

गिलियमले भने, “कानूनको पालना नगर्ने न्यायाधीश, जानकारी चुहाउनेहरू, र पहिलेका प्रशासनले अवैध आप्रवासीलाई संरक्षण दिनेहरूलाई कारबाही हुनु आवश्यक छ। नत्र अमेरिका सुरक्षित रहन सक्दैन।”