१९ बैशाख २०८२, शुक्रबार
2 May 2025, Friday

राष्ट्रपति ट्रम्पका सय दिन उत्साहजनक

राष्ट्रपति ट्रम्पका सय दिन उत्साहजनक

न्युयोर्क- विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दास्रो कार्यकालको सय दिनले नयाँ उत्साह थपेको छ । आफूमाथि लागेका फौजदारी अभियोग सामना गर्दै गएको नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा उहाँ विजयी बन्नुभएको थियो । गत जनवरी २० मा दोस्रो कार्यकाल सुरु गर्नुभएका उहाँले यो सय दिनमा अमेरिकालाई फाइदा हुने र बाँकी विश्वलाई सोच्नुपर्ने अवस्थामा पुर्‍याउनुभएको छ ।

ट्रम्पले आँखा चिम्लेर राष्ट्रवादी कार्यक्रम अगाडि बढाउनुभएको छ । त्यही भएर धेरै अमेरिकीहरुले उहाँलाई मन पराएका छन् । अमेरिकालाई विदेशी अपराधीको अखडा बन्न नदिने कडा नीति अख्तियार गर्नुभएको छ ।

उहाँले अमेरिकालाई पहिलो बनाउन चीनसित व्यापार युद्ध गर्नुभएको छ । चीनका सामानमा २४५ प्रतिशत भन्सार कर लगाइदिनुभएको छ । उहाँका कदम प्रति अमेरिकीहरू खुसी छन् । उहाँको राष्ट्रवादी कार्यक्रमले अमेरिकालाई थप शक्तिशाली बनाउने छ ।

सुरुमा उहाँलाई फौजदारी अभियोगमा चुनावबाट वञ्चित गर्ने सम्भावना थियो तर कसैले हिम्मत गरेनन् । उहाँ कडा रूपमा प्रस्तुत हुनुभयो । उहाँसँग प्रतिस्पर्धा गर्न नसकेर उहाँका चुनावी प्रतिद्वन्द्वी तत्कालीन राष्ट्रपति जोए बाइडेनले बीचमै चुनावी मैदानबाटपछि हट्नुभयो । ट्रम्पसँग बाइडेनको डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिसलाई अगाडि सारियो । तर धेरै अमेरिकाहरूले कमलालाई मन पराएनन् । ट्रम्पले सहजै चुनाव जित्नुभयो ।

यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा भने ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति बन्नु भएको थियो ।
ट्रम्पले प्राइमरी चुनावहरूमा वर्चस्व कायम गर्दै सबै ठाउँमा जित्नु भयो । उहाँका प्रमुख प्रतिस्पर्धी निकी ह्याली चुनावी मैदानबाट पछाडि हट्नु भयो । विभिन्न मुद्दा खेप्नु भएका ट्रम्पलाई यस पटक उम्मेदवार बन्न अप्ठेरो पर्छ कि भनी गरिएका पूर्वानुमान गलत साबित भयो ।

ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाउनु भएको थियो । उहाँले खुला सीमा बन्द गर्नेदेखि लिएर ठूलो सङ्ख्यामा अवैध आप्रवासीलाई देशनिकाला गर्न वाचा गर्नुभयो । उहाँले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, रुस–युक्रेन युद्ध अन्त्य गर्ने र विश्वमामिलामा उहाँको ‘अमेरिका पहिले’ को नारा पुनः लागु गर्ने घोषणा गर्नुभएको थियो । जलवायुसम्बन्धी पेरिस सम्झौताबाट हट्ने विषयमा उहाँ पुनः प्रतिवद्ध हुनुभयो ।

ट्रम्प नयाँ रोजगारीका अवसर सिर्जना गर्ने, नयाँ साना उद्योग पनि स्थापित गर्ने, आयकरमा कटौती गर्ने र कम्पनीहरूलाई ट्याक्स क्रेडिट दिन ताकि कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न सकियोस् भन्ने उहाँको योजना छ ।

ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने नारा अगाडि सार्नुभयो । आप्रवासी समस्या समाधान गर्ने,रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने उहाँको योजनासहित चुनाव जित्नुभएका उहाँले चुनावी वाचा अनुसार नै सयदिनभित्र धेरै काम गर्न थाल्नुभएको छ । उहाँका कार्यक्रमले विश्वमै हलचल पैदा भएको छ ।

अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ । त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।

अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको छ । अमेरिकी मतदाताहरूले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अपत्यक्ष अर्थात् गठिन ५३८ सदस्यीय इलेक्टोरल कलेजले गर्ने गर्दछ । अमेरिकी संसद् दुई सदनात्मक छ । हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ ।

अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचन सुरु भएको हो । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेकिकामा बसोबास गर्दै आएको हुनुपर्ने व्यवस्था छ । एक व्यक्ति लगातार दुईपटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुन नपाउने व्यवस्था छ ।

अमेरिका लामो समय बेलायतको उपनिवेशमा रह्यो । अमेरिकामा सन् १६१९मा काला जातिका मानिसलाई दासका रुपमा अफ्रिकाबाट भित्र्याइएको हो । सुरुमा काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार थिएन । बेलायती उपनिवेशबाट सन् १७७६मा मुक्त भई जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे । आन्दोलनले गृहयुद्धको रुप लियो । सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलन गरियो ।

संविधानमा दास प्रथाको उन्मूलनको घोषणा गरे पनि व्यवहारमा लागू भएन । आन्दोलन रोकिएन । लामो समयसम्म जारी रङ्गभेदविरोधी आन्दोलन सन् १९६५मा चरमोत्कर्षमा पुग्यो । आन्दोलनको नेतृत्व गर्नुभएका अश्वेत नेता मार्टिन लुथर किङको १९६८मा हत्या भयो । यसले आगोमा घिउ थप्ने काम गर्‍यो । आफ्ना लोकप्रिय नेताको हत्याले आक्रोशित काला जातिको रङ्गभेदविरोधी आन्दोलन अरु चर्किन नदिन गोरा अमेरिकी नागरिक सरहका सबैखाले अधिकार दिन सरकार प्रतिबद्ध भयो । त्यसपछि काला जातिका मानिसहरूले प्रशासन तथा सैनिक सेवामा प्रवेश पाउन थाले ।

सरकारको प्रतिवद्धता अनुसार सन् १९८९मा पहिलो अश्वेत नागरिक कोलिन पावेल अमेरिकी सेनाको कमान्डर नियुक्त हुनुभयो । सन् २००५मा पहिलो अश्वेत महिला कन्डोलिजा राइस विदेशमन्त्री बन्नुभयो ।

बाराक ओबामाले अमेरिकामा काला जातिकातर्फबाट पहिलोपल्ट राष्ट्रपति निर्वाचित भई नयाँ इतिहास रच्नु भयो । उहाँ डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेर लगातार दुई कार्यकाल अमेरिकाको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकार सन् २००८ देखि सन् २०१२ सम्म र दोस्रो कार्यकाल सन् २०१२ देखि सन् २०१६ सम्म रह्यो । उहाँले मुलुकमा व्याप्त आर्थिक मन्दी हटाउने, बेरोजगारी समस्या समाधान गर्दै अमेरिकालाई सुरक्षित बनाउने, आतङ्कवादलाई पराजित गर्ने, मध्यम वर्गीय अमेरिकीहरूको हितमा बढी काम गर्ने विषयमा केन्द्रित रहनुभयो । उहाँले अगाडि सार्नुभएका सुधारका कार्यक्रमलाई धेरै अमेरिकीहरूले मन पराए ।

उहाँको जितले करिब चार सय वर्षदेखि पशुसरह दासका रुपमा अफ्रिकाबाट भित्र्याइएका काला जातिका मानिसको रङ्गभेदविरुद्धको शताब्दीऔँ लामो आन्दोलनले सफलता पायो । दास बनाइएका मानिसको समूहबाट पनि मुलुकको सर्वोच्च नेतृत्व राष्ट्रपति निर्वाचित हुन सक्छन् भन्ने सन्देश दिएको चुनावको परिणाम लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइयो । ओबामाको जितसँगै अमेरिकामा रङ्गभेदको पूर्ण रुपले अन्त्य पनि भयो । ओबामाको चुनाव जितको प्रमुख कारण नै शान्ति र मेलमिलापप्रति उहाँको प्रतिबद्धता थियो ।

अमेरिकाका निर्वाचित राष्ट्रपतिहरूमा सबभन्दा कम उमेरमा ४४औँ राष्ट्रपति बन्ने ओबामा तेस्रो राष्ट्रपति हुनुभयो । उहाँले ४७ वर्षको उमेरमा राष्ट्रपति हुने मौका पाउनुभयो । दोस्रो कम उमेरमा ४१औँ राष्ट्रपति बन्ने विल क्लिन्टन हुनुहुन्छ । उहाँ ४६ वर्षमा राष्ट्रपति बन्नुभएको हो । त्यस्तै अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेरमा ३५औँ राष्ट्रपति बन्ने सौभाग्य जोन एफ केनेडीले पाउनुभयो । राष्ट्रपतिमा निर्वाचित हुँदा उहाँ ४३ वर्षको हुनुहुन्थ्यो । सन् १९६० मा राष्ट्रपति निर्वाचित हुनुभएका केनेडीको सन् १९६३ मा हत्या गरिएको थियो । केनेडी पनि ओबामा जस्तै सारा विश्वको युवा आवाज बन्नुभएको थियो ।

अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प सबैभन्दा विवादास्पद राष्ट्रपति बने पनि अमेरिकीमाझ उहाँ नै लोकप्रिय हुनुहुन्छ । सन् २०२० को चुनाव आफूले नहारेको तर हराइएको दाबी गर्नुभयो । राष्ट्रपति चुनाव हारे पनि उहाँले हार स्वीकार गर्नुभएन । आफ्ना समर्थक कार्यकर्ताहरु लगाएर अमेरिकी संसद् ‘क्यापिटल हिल’ मा आक्रमण भयो । अमेरिकाको इतिहासमै संसद्माथि आक्रमणमा दोषी ठहर गरिएपछि ट्रम्प २० मिनेटका लागि जेल समेत जानुभयो ।

सन् २०२१ को जनवरी ६ मा ट्रम्पको निर्देशन अनुसार उहाँका समर्थकद्वारा अमेरिकी संसद् भवनमा हिंसात्मक आक्रमण भयो । सो घटनामा पाँच जनाको मृत्यु भयो भने केही घाइते भए । संसद् भवनमा तोडफोडसमेत भयो । सो घटनामा केही व्यक्तिलाई पक्राउ गरियो । ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा आफू विजयी भए पक्राउ गरी कारबाही गरिएकालाई माफी दिने घोषणा गर्नुभएको थियो । अमेरिकाको इतिहासमा ट्रम्पसहित तीन राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो । ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको भन्दै सन् २०१९ मा र संसद् भवनमा दङ्गा गराएको आरोपमा सन् २०२१ मा महाभियोग लगाइएको थियो । यसअघि सन् १८६८ मा एन्ड्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए । तर कसैलाई पनि पदबाट हटाइएन ।

अमेरिकालाई अवैध आप्रवासीहरू र विदेशी अपराधीबाट मुक्त गरी शान्त मुलुक बनाउने ट्रम्पको कदम स्वागत योग्य छ । अमेरिका शान्त भयो भने विश्वमै शान्ति छाउने छ । राष्ट्रवादीको छवि बनाउनुभएका ट्रम्पको पछिल्ला कदमबाट विरोधीहरू थर्कमान भएका छन् ।

बी.के. नेवा, न्यूयोर्क