२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

जर्सी सिटीमा भीषण आगलागी, ४ गम्भीर घाइते, अनुसन्धान जारी

जर्सी सिटीमा भीषण आगलागी, ४ गम्भीर घाइते, अनुसन्धान जारी

न्युयोर्क- जर्सी सिटीको सुमिट एभिन्युमा आइतवार बिहान करिब ४ बजेतिर भएको भीषण आगलागीमा परी दुई बालबालिका र दुई वयस्क गम्भीर रूपमा घाइते भएका छन्। घटनामा संलग्न कैयौं दमकलकर्मीले समेत उपचार सेवा लिनु परेको अधिकारीहरूले जनाएका छन्।

हडसन काउन्टी प्रोसिक्युटरको कार्यालयका अनुसार घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। घटनास्थलमा अमेरिकन रेडक्रसले पनि राहत र उद्धारका लागि सहायता उपलब्ध गराएको छ। रेडक्रसले १८ जना प्रभावितलाई अस्थायी आवास, भोजन र लत्ताकपडाका लागि आपतकालीन सहयोग उपलब्ध गराइरहेको छ।

घटनाको अनुसन्धान हडसन काउन्टी क्षेत्रीय आगलागी अनुसन्धान टास्क फोर्स र जर्सी सिटी दमकल विभागले संयुक्त रूपमा गरिरहेका छन्। आगलागीका कारण सुमिट एभिन्यु र मर्सर स्ट्रीटको मार्ग केही समयका लागि बन्द गरिएको थियो।

यस भीषण आगलागीको कारण हालसम्म खुलाइएको छैन। अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।