२१ बैशाख २०८२, आइतवार
4 May 2025, Sunday

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

सान्टियागो –  दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन् ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटरको दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो ।

‘कृपया सावधान रहनुहोला १ सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ ।

राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन् ।  चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७.५ म्याग्निच्यूडभन्दा केही तल ७.४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

स्थानीय समयानुसार बिहान ९:५८ बजे भूकम्प गएको थियो भने त्यसपछि कैयौँ साना पराकम्पहरू पनि रेकर्ड गरिएको थियो । दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ ।

अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, ‘भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरहरूमा महसुस गरिएको थियो ।’

‘भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन’ विज्ञप्तिमा भनिएको छ । चिली भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो ।

नाज्का, दक्षिण अमेरिकी, र अन्टार्कटिसहितका तीन टेक्टोनिक प्लेटहरू यसको क्षेत्रभित्र समाहित छन् । सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो र यसका कारण कम्तीमा नौ हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । उक्त भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ ।

सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्नीच्यूडको भूकम्पमा परी ५२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।