अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
- २० बैशाख २०८२
- १ मिनेटको पढाई
काठमाडौं- सन् २०२५ को अप्रिल महिनामा हाल सम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महिनामा मात्रै १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।
बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६.५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारी पूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै १ लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
‘हामीले आधिकारिक रूपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ,’ बोर्डले उल्लेख गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए । ‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो,’ उनले भने ।