२५ बैशाख २०८२, बिहिबार
8 May 2025, Thursday

कोलम्बिया विश्वविद्यालयको पुस्तकालयमा प्यालेस्टिनी पक्षमा प्रदर्शन, प्रहरीद्वारा प्रदर्शनकारी नियन्त्रणमा

कोलम्बिया विश्वविद्यालयको पुस्तकालयमा प्यालेस्टिनी पक्षमा प्रदर्शन, प्रहरीद्वारा प्रदर्शनकारी नियन्त्रणमा

न्युयोर्क- कोलम्बिया विश्वविद्यालयको बटलर पुस्तकालयमा प्रोज–प्यालेस्टिनी प्रदर्शनकारीहरू प्रवेश गरेपछि विश्वविद्यालय प्रशासनले हस्तक्षेप गर्नुपरेको थियाे।

करिब ४ बजे सुरु भएको प्रदर्शन पुस्तकालयको अध्ययन कक्षमा केन्द्रित थियो, जहाँ ६० देखि १०० जना सम्म प्रदर्शनकारी प्रवेश गरेका थिए। धेरैले अनुहार छोपेका थिए। विश्वविद्यालयको सुरक्षा टोलीले उनीहरूलाई परिचयपत्र देखाउन र स्थान खाली गर्न आग्रह गरे पनि केही प्रदर्शनकारीले निर्देशनको पालना गर्न मानेनन्।

बाहिर रहेका अन्य प्रदर्शनकारीहरू पुस्तकालयको ढोकाबाहिर नारा लगाइरहेका थिए। साँझसम्म केही आफैं बाहिरिए पनि केही भित्रै रहेपछि न्यूयोर्क प्रहरी (NYPD) पुस्तकालयमा प्रवेश गरेर प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएकाे थियाे।

कति जना पक्राउ परेका हुन् भन्ने पुष्टि भइनसकेको भए पनि न्यूयोर्कका मेयर एरिक एडम्सले पुस्तकालयभित्रको यस्तो गतिविधिलाई “अस्वीकार्य” भनेका छन्। विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई पुस्तकालय क्षेत्र वरिपरि जान नदिन अनुरोध समेत गरेको छ।