२ जेष्ठ २०८२, बिहिबार
15 May 2025, Thursday

“८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए” भव्यरुपमा सम्पन्न

“८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए” भव्यरुपमा सम्पन्न

न्यूयोर्क- नेपाली संगीत र चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहुँचलाई अझ बलियो बनाउँदै ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ भव्य रूपमा न्यूयोर्कमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल र प्रवासमा रहेका नेपाली कलाकारको योगदानलाई उच्च सम्मान गिरएकाे थियाे।

रेभेल इभेन्ट्स इन्क, बुद्ध ट्याक्स एकाउन्टिङ र शतिसाल ग्रुप एलएलसी यूएसएको सहकार्यमा टपशप काठमाडौंको प्रस्तुतिमा आयोजित कार्यक्रममा महानायक राजेश हमाल, पशुपति श्रेष्ठ र लकेश श्रेष्ठको अगुवाइमा कलाकार, संगीतकर्मी र सिनेकर्मीहरूलाई विविध विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो।

दीपेश किशोर भट्टराई, राम श्रेष्ठ, आशा कुँवर, रामजी खाँड, ग्लुमी गाइज, सञ्जीव प्रधान, मल्लिका कार्की, दुर्गा गुरुङलगायतका कलाकारहरूको दमदार प्रस्तुति रहेकाे थियाे।

कार्यक्रममा नेपाली संगीत र चलचित्र क्षेत्रमा जीवनभर योगदान दिएका सर्जक ओम विक्रम बिष्ट र शम्भुजीत बास्कोटालाई विशेष सम्मान प्रदान गरिएकाे थियाे। १० वर्षको उमेरदेखि संगीत यात्रा सुरु गरेका बिष्टका “म मौनतामा”, “मेरो रहर”, “सुनचाँदी भन्दा” जस्ता कालजयी गीतहरू नेपाली संगीत इतिहासमा गहिरो छाप बनाइसकेका छन्। त्यस्तै, २,००० भन्दा बढी गीत र ३५५ फिल्ममा संगीत दिएका शम्भुजीत बास्कोटाले नेपालको पहिलो म्युजिक भिडियो “मायालु तिमी टाढा” मा संगीत दिएर सांगीतिक क्षेत्रमा नँया क्रान्ति ल्याएका थिए।

चलचित्र विधामा पनि पुरस्कार वितरण गरिएको थियो। निर्देशक शंकर घिमिरे (तेल भिसा) सर्वश्रेष्ठ निर्देशक घोषित भए भने सोही फिल्मबाट रिचा घिमिरे सहायक अभिनेत्रीको रूपमा सम्मानित भइन्। निति शाहले ज्वाइँ साहेब फिल्मबाट उत्कृष्ट नव–अभिनेत्रीको उपाधि पाइन् भने प्रशान्त ताम्राकारले नकारात्मक भूमिकाको अवार्ड जिते। पूर्ण बहादुरको सारङ्गी बाट विजय बरालले उत्कृष्ट अभिनेता र दयाहाङ राईले लोकप्रिय अभिनेता अवार्ड जिते। स्वस्तिमा खड्का (मेघौलिकी बेहुली) उत्कृष्ट अभिनेत्री घोषित भइन् भने छक्का पञ्जा ५ का केदार घिमिरे हास्य अभिनेताको रूपमा सम्मानित भए।

संगीत विधातर्फ पनि विभिन्न अवार्ड प्रदान गरिएकाे थियाे । “आगो लाई दिन्छु” का लागि राहुल शाह लोकप्रिय कोरियोग्राफर घोषित भए। आश्रा कुँवर र रामजी खाँडले पप तथा लोक युगल गायनको अवार्ड हात पार्न सफल भए। लोकदोहोरी गायिका सुनीता दुलालले “नबोल अरु संग” गीतका लागि अवार्ड प्राप्त गरिन्।

विदेशमा बसेर नेपाली संगीत र कलालाई योगदान दिने कलाकारहरूलाई पनि ‘गोल्डेन स्टार अवार्ड’ प्रदान गरिएकाे थियाे। सम्मानित हुनेहरूमा राजु लामा (एन्जल ब्याण्ड), जेम्स प्रधान, सञ्जीव प्रधान, रीमा गुरुङ होडा, हरी कर्माचार्य, तिलक बम मल्ल, अनिश ओकली र मोहन भुसाल रहेका छन।

त्यस्तै, सर्जक रवि किरण अधिकारीलाई निर्णायक विशेष पुरस्कार (Jury Award) प्रदान गिरएकाे थियाे। उनले मानव बेचबिखनविरुद्धको सामाजिक सचेतनामूलक गीत लेखेर नेपाली गीतसंगीतलाई सामाजिक रूपमै योगदान पुर्‍याएका थिए। यस्तै विशेष योगदान पुरस्कार नवराज श्रेष्ठ, विशेष पोशाक डिजाइनर पुरस्कार जुबिली शेर्पा र निर्णायक विशेष सम्मान हसन रजालीलाई प्रदान गरिएको थियो।

कार्यक्रमले नेपाली कला, संगीत र चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवपूर्वक प्रस्तुत मात्र गरेन, विदेशमा रहेका नेपाली समुदायलाई एकै थलोमा जोड्ने सांस्कृतिक माध्यमको रूपमा आफूलाई स्थापित गर्न सफल रह्यो। कार्यक्रम AMN-USA मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

कार्यक्रम सञ्चारकर्मी सुमेक्षा खड्का र सुरजसिंह ठाकुरीको सञ्चालनमा सम्पन्न भएकाे थियाे।