१ असार २०८२, आइतवार
15 June 2025, Sunday

न्यूयोर्क सहरमा आप्रवासी अपराध वृद्धि: ट्रेन् डे अरागुवा गिरोहका किशोरद्वारा  प्रहरीमाथि आक्रमण

न्यूयोर्क सहरमा आप्रवासी अपराध वृद्धि: ट्रेन् डे अरागुवा गिरोहका किशोरद्वारा  प्रहरीमाथि आक्रमण

न्यूयोर्क – न्यूयोर्क सहरमा आप्रवासीहरूद्वारा अपराधमा संलग्नता तीव्र गतिमा बढिरहेको पाइएको छ। विशेषगरी भेनेजुएलाको हिंस्रक गिरोह ट्रेन् डे अरागुवाका सदस्यहरूले न्यूयोर्क प्रहरीमाथि आक्रमण गरेपछि यो समस्या झनै चर्चामा आएको हो।

एक तथ्यांक अनुसार, सन् २०२३ जनवरी १ देखि २०२४ अक्टोबर ३१ सम्म न्यूयोर्क सहरका ४८ आप्रवासी आश्रयस्थलमा बस्ने ३,२१९ व्यक्तिहरू ४,८८४ पटक पक्राउ परेका छन्।
तिनीहरूले सबैभन्दा धेरै चोरी (१,२८५ पटक), आक्रमण (५४४ पटक) र लागूपदार्थसम्बन्धी अपराध (४९७ पटक) गरेका छन्। साथै, ४९३ वटा ठूलो चोरी, २३६ डकैती र १४१ यौन अपराधमा पनि उनीहरू संलग्न रहेका छन्।

उक्त समयमा ती ४८ आश्रयस्थलको १,००० फिट वरपर १६,३७१ वटा अपराध भएका थिए। ३,२०० भन्दा बढी आप्रवासीले ती आश्रयस्थललाई स्थायी ठेगाना जनाएका थिए।

सन् २०२३ को सुरूमा आश्रयमा बस्ने आप्रवासीहरूको संख्या २४,००० थियो, जुन २०२४ को अक्टोबरसम्ममा बढेर ५९,००० पुगेको थियो, र सो अवधिमा ६९,००० को उच्चतम बिन्दु छोएको थियो। अहिले आश्रयस्थलमा बस्ने आप्रवासी संख्या ३९,५०० रहेको बताइएको छ।

पछिल्लो घटनामा ट्रेन् डे अरागुवा गिरोहको Los Diablos de 42 समूहका किशोरहरूले टाइम्स स्क्वायरमा दुई एनवाईपीडी अधिकारीमाथि आक्रमण गरेका थिए।
उनीहरूले प्रहरीमाथि शिशाको बोतल, बास्केटबल र ढुंगाले आक्रमण गरेका थिए। पक्राउ परेका ११ मध्ये ५ जना अवैध भेनेजुएलाली आप्रवासी हुन्।

पक्राउ परेका मध्ये एक १२ वर्षका छन् भने एक जनालाई वयस्कका रूपमा दंगा र आक्रमणको मुद्दा लगाइएको छ। केहीलाई उनका आप्रवासी अभिभावकहरूले लिएर गएको जानकारी पनि प्रहरीले दिएको छ।

प्रहरीका अनुसार ती किशोरहरू २०२२ देखि डकैती लगायतका अपराधमा संलग्न रहँदै आएका थिए, तर कमजोर किशोर न्याय नीतिका कारण पटक–पटक रिहा हुँदै आएका थिए।

न्यूयोर्क सिटी हलले दिएको वक्तव्यमा, मेयर एरिक एडम्सको प्रशासनले २०२२ मा उत्पन्न मानवीय संकटका कारण सयौं आपतकालीन आश्रय खोल्नुपरेको जनाएको छ।
संघीय सरकारबाट सहयोगको माग गर्दा खासै प्रतिक्रिया नआएको उनीहरूको गुनासो छ।

“सहरमा बस्न सक्ने हैसियत नभएका व्यक्तिहरूको ठूलो संख्यामा आगमनले केही व्यक्तिबाट अपराध हुने सम्भावना हुन्छ भन्ने मेयरको भनाइलाई गलत रूपमा विरोध गरिएको थियो,” सिटी हलको वक्तव्यमा भनिएको छ।
“आज हामी लगातार १० महिनादेखि आश्रयमा बस्ने आप्रवासीको संख्या घटाउने दिशामा छौं र यो वर्ष जुलाईसम्म ५० भन्दा बढी आश्रयस्थलहरू बन्द हुने अपेक्षा गरिएको छ।”