ट्रम्प चीनमाथि लगाइएको शुल्क घटाएर ८० प्रतिशतमा ल्याउने तयारीमा
- २६ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङटन- राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको आगामी व्यापार वार्ताका सन्दर्भमा एउटा ठूलो प्रस्ताव अघि सारेका छन्। उनले चीनमाथि हाल लागिरहेको १४५ प्रतिशत आयात शुल्क घटाएर ८० प्रतिशत पुर्याउन सकिने बताएका छन्, तर अन्तिम निर्णय ट्रेजरी सचिव स्कट बेसन्टमा निर्भर हुने उल्लेख गरेका छन्।
शनिबार जेनेभामा अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रियर र चिनियाँ अधिकारीबीच पहिलो चरणको वार्ता हुने तय भएको छ। त्यसअघि ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “चीनले अमेरिकी उत्पादनहरू आयात गर्नुपर्छ — त्यो उनीहरूकै लागि फाइदाजनक हुनेछ! बन्द बजारको युग समाप्त भइसकेको छ!”
ट्रम्पले थप लेखे, “चीनमाथि ८० प्रतिशत शुल्क उपयुक्त लाग्छ। बाँकी निर्णय स्कट बीले गरून्।”
हालका उच्च शुल्कहरूका कारण चीनबाट अमेरिका आउने आयातमा ६० प्रतिशत गिरावट आएको छ। विश्लेषकहरूका अनुसार ५० प्रतिशतभन्दा बढी शुल्क रहँदा व्यापार सामान्य अवस्थामा फर्कन सक्दैन। त्यसैले ८० प्रतिशतको प्रस्ताव अझै पर्याप्त नहुन सक्ने चेतावनी दिइएको छ।
गोल्डम्यान स्याच्सका विश्लेषकहरूले भनेका छन् कि यदि यही अवस्थाले निरन्तरता पायो भने वर्षको अन्त्यसम्म महँगी दोब्बर भएर ४ प्रतिशत पुग्न सक्छ। यद्यपि वार्ताले तत्काल कुनै सम्झौता ल्याउने अपेक्षा गरिएको छैन।
ट्रेजरी सचिव बेसन्टले भनेका छन्, “यो चरण व्यापार सम्बन्धको तनाव घटाउने सुरुआत मात्र हो। हामी व्यापार छुट्ट्याउने होइन, निष्पक्ष व्यापारको खोजीमा छौं।”