भारत–पाक युद्ध रोक्दा ट्रम्पलाई ऐतिहासिक सफलता
- ३० बैशाख २०८२
- ४ मिनेटको पढाई

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेलगत्तै युद्धविराम गरिएको छ । राष्ट्रपति ट्रम्पको सक्रियतामा युद्धविराम सम्भव भएको हो । यसलाई उहाँको ठूलो राजनीतिक सफलता भनिएको छ ।
विगत केही दिनदेखि सीमापारि हवाई हमला र गोलाबारी गर्दै आएका दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानले आफ्नो आग्रहलाई मानेकोमा राष्ट्रपति ट्रम्पले उनीहरूको फेरि खुलेर प्रशंसा गर्नुभएको छ ।
उहाँले कश्मीरको विषयमा विद्यमान विवाद समाधान गर्न आफूले दुवै देशसँग मिलेर काम गर्ने वचन पनि दिनुभएको छ । यद्यपि भारत र पाकिस्तानले उहाँको यो प्रस्तावबारे कुनै टिप्पणी गरेका छैनन् । पाकिस्तानले आफू सहमति कार्यान्वयनकालागि प्रतिबद्ध रहेको र आफ्ना सैनिकहरू संयमित हुने बताएको छ ।
भारत र पाकिस्तानबीच मे १२ मा वार्ता भएको छ । अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले शनिबार भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएको बताउनुभएको छ ।
पाँच दिनसम्म चलेको सीमा वारपार हमलापछि भारत र पाकिस्तानबीच तत्काल लागु हुने गरी पूर्ण युद्धविराम भएको हो । भारत र पाकिस्तान दुवैले काश्मीरमा आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन् । तर सामान्यतया काश्मीरको एउटा भागमा भारतको र अर्को भागमा पाकिस्तानको शासन छ । काश्मीर मामिलालाई लिएर यी दुई देशहरूबीच पटक पटक युद्ध भइसकेको छ ।
गत महिना भारत–प्रशासित कश्मीरको पहलगाममा इस्लामिक आतङ्कवादीले गोली हानी एक नेपाली नागरिकसहित २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । आतङ्कवादीलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।
ट्रम्पले शनिबार भारत र पाकिस्तान तत्काल पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । त्यसपछि दुवै देशका अधिकारीहरूले त्यसबारे सहमति भएको पुष्टि गरे । दक्षिण एसियाली समयानुसार आइतबार बिहान सामाजिक सञ्जाल ट्रूथ सोसलमा एउटा पोस्ट लेख्दै ट्रम्पले धेरै मानिसको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्ने वर्तमान आक्रामकता रोक्ने तत्परता देखाएकोमा भारत र पाकिस्तानका शक्तिशाली नेतृत्वप्रति आफू गौरवान्वित भएको टिप्पणी गर्नुभएको छ ।
ट्रम्पले भन्नुभयो, “तपाईंहरूको विरासतलाई तपाईंहरूको आँटिलो कार्यले सुदृढ बनाएको छ । तपाईंहरूलाई यो ऐतिहासिक र साहसिक निर्णयमा पुग्न संयुक्त राज्य अमेरिकाले सघाउन पाउँदा मलाई गर्व लागेको छ ।” उहाँले त्यस विषयमा छलफल नगरिएको भए पनि दुवै महान् देशसँग हुने व्यापार ठूलो मात्रामा बढाउने घोषणा पनि गर्नुभयो ।
पहलगाम घटनाको जबाफ दिन भन्दै भारतले गत मङ्गलबार मध्यरातपछि पाकिस्तान र पाकिस्तान–प्रशासित काश्मीरका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरे । भारतले सैन्य कारबाही थालेपछि दुवै देशमा केही मानिस मारिए र केही घाइते भए ।
इस्लामाबाद र दिल्लीबीच तनाव चुलिँदा ट्रम्पले त्यसलाई मत्थर पार्न आफू संलग्न हुनुपर्ने आवश्यकता देख्नुभयो । तर अझ रणनीतिक तहमा हेर्दा वासिङ्टन चीनलाई रोक्न भारत निकै महत्वपूर्ण हुने ठान्छ । विगतका अमेरिकी सरकारहरूले पनि चीनलाई घेराबन्दी गर्न दक्षिण कोरियादेखि भारतसम्मका देशलाई आफ्नो साझेदार बनाएको प्रसङ्ग र ट्रम्पले केही समयअघि भारतका प्रधानमन्त्रीसँग सुरक्षा सहकार्य र व्यापार अझ बढाउने एउटा सहमति गरेको कुरा पनि महत्वपूर्ण छ ।
अहिले पाकिस्तान चीन र इरानसँग नजिकिँदै गरेकोमा वासिङ्टनले आफ्नो निकट साझेदार भारत एउटा भयानक द्वन्द्वमा फस्न लागेको र क्षेत्रीय सुरक्षा ठूलो खतरामा परेको आँकलन गरेको थियो । त्यसै कारण युद्ध रोक्न ट्रम्पले सव्रिmयता देखाई सफल पनि हुनुभयो ।
लामो समयदेखि चर्चा र विवादमा रहेकको काश्मीर सन् १८४६ राज्यको रुपमा स्थापना भएको हो । सन् १९४७–१९४८मा पाकिस्तानी आदिवासीहरूको एउटा समूहले आक्रमण गरेपछि काश्मीरका महाराजद्वारा भारतसँग एउटा सन्धिमा हस्ताक्षर गरी काश्मीरलाई भारतमा विलय गराउने घोषणा गरेसँगै भारत र पाकिस्तानबीच युद्ध सुरु भयो । सन् १९४९ युद्धविराम रेखामा सहमति भएपछि काश्मीर भारत र पाकिस्तानबीच विभाजित भयो । सन् १९६२ अक्साई चीनको सीमा क्षेत्रबारे विवाद उत्पन्न भएपछि भारत र चीनबीच छोटो युद्ध भयो ।
सन् १९६५ काश्मीरको विषयमा भारत र पाकिस्तानबीच दोस्रो पटक युद्ध भयो । त्यसपछि युद्धविराम भयो । भारत र पाकिस्तान दुवै देशको शासनअन्तर्गत भएका भूभागको एकीकरण गरेर स्वतन्त्र राष्ट्र बनाउने उद्देश्यसहित जम्मु काश्मीर लिबरेसन फ्रन्टको स्थापना भयो । सन् १९७१ म युद्ध भएपछि सन् १९७२ सिमला सम्झौता भयो । युद्धका कारण पाकिस्तानबाट बङ्गलादेश टुक्रिएपछि मतभिन्नता हटाउने प्रयासस्वरूप भारत र पाकिस्तानद्वारा लाइन अफ कन्ट्रोल (एलओसी) अर्थात् नियन्त्रणरेखालाई युद्धविराम रेखा मान्ने सहमति भयो ।
सन् १९८० का दशकमाभारतको शासनप्रति असन्तुष्टि बढ्दा सशस्त्र प्रतिरोध, विरोधप्रदर्शन र पाकिस्तानबाट समर्थन प्राप्त लडाकु समूहहरूको उदय भयो । हजारौँ मानिसको मारिए । सन् १९९९ मा लडाकुहरू लाइन अफ कन्ट्रोल नाघेर भारत प्रशासित काश्मीरको कार्गिल पुगेपछि भारत र पाकिस्तानबीच छोटो लडाइँ भयो । सन् २००८ – भारत र पाकिस्तानद्वारा ६ दशकपछि लाइन अफ कन्ट्रोल हुँदै जाने व्यापारमार्ग खुला गरे । सन् २०१०मा भारत प्रशासित काश्मीरमा भारतविरोधी प्रदर्शनहरूमा एक सयजना युवा मारिए ।
सन् २०१५मा ठूलो राजनीतिक मोड लियो । जम्मु तथा काश्मीरमा भएको निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी पहिलो पटक ठूलो राजनीतिक दलका रूपमा स्थापित भयो । मुस्लिम पिपल्स डेमोक्रेटिक पार्टी नामक क्षेत्रीय दलसँग मिलेर गठित सरकारमा सहभागी भयो । सन् २०१९ भारतको संविधानले जम्मु तथा काश्मीरलाई दिएको विशेष मान्यता र स्वायत्तता केन्द्रीय सरकारद्वारा खारेज गर्यो । दिल्लीको शासन भएका दुइटा छुट्टाछुट्टै क्षेत्र घोषित भए ।
अहिले दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन् । यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकोमा सबैले यस कार्यको प्रशंसा गरेका छन् । अब भारत र पाकिस्तानले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै ।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा आफूलाई शान्ति स्थापकका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले भारत र पाकिस्तानबिचको युद्ध रोक्न सफल हुनुभयो । त्यसैगरी रुस र युक्रेनबीच जारी युद्ध रोक्न दुवै देशलाई मनाउँदै हुनुहुन्छ । इरानसित वार्ता गर्ने प्रस्ताव पनि अगाडि सार्नुभएको छ । उहाँका यी लगायतका प्रयासले विश्वमा शान्ति हुने अपेक्षा बढेको छ । शान्तिका लागि उहाँले निर्वाह गर्नुभएको भूमिकाका लागि उहाँको विश्वस्तरमै उच्च मूल्याङ्कन हुने सम्भावना बढेको छ ।
बी.के. नेवा, न्युयोर्क
ताजा खबर
ट्रेन्डिङ
१.
सुबिधा खोज्दै शहर पस्नाले रित्तिँदै गाउँ
- २४ जेष्ठ २०८१
२.
३.
४.
रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड
- १८ जेष्ठ २०८१
५.
कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र
- १६ जेष्ठ २०८१
सम्बन्धित खबर
“न्युयोर्कमा माया केसीलाई स्याङ्जा समाज अमेरिकाद्वारा भव्य स्वागत”
- २७ बैशाख २०८२
- १ मिनेटको पढाई
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
- २७ बैशाख २०८२
- १ मिनेटको पढाई
“ट्रम्प प्रशासन आप्रवासीहरूका लागि न्यायिक प्रक्रिया निलम्बन गर्ने तयारीमा”
- २७ बैशाख २०८२
- २ मिनेटको पढाई
“८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए” भव्यरुपमा सम्पन्न
- २६ बैशाख २०८२
- २ मिनेटको पढाई