१ जेष्ठ २०८२, बुधबार
14 May 2025, Wednesday

कनेक्टिकटमा कोठा साथीको हत्या गिर टुक्राटुक्रा पारेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु

कनेक्टिकटमा कोठा साथीको हत्या गिर टुक्राटुक्रा पारेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु

कनेक्टिकट — आफ्नै कोठा साथीको हत्या गरेर शव टुक्र्याएको अभियोग लागेका एक पुरुषको जेलमै मृत्यु भएको छ।

कनेक्टिकटको करिगन सुधार केन्द्रमा राखिएका ६८ वर्षीय डोनाल्ड कोफेलको शुक्रबार निधन भएको राज्यको सुधार विभागले जनाएको छ। उनीमाथि ५८ वर्षीया सुजैन वर्म्सरको हत्या गरेको अभियोग लागेको थियो।

सुधार विभागका अनुसार कोफेलको मृत्यु शंकास्पद नभएको मानिएको छ र मृत्युको कारणको पुष्टि मेडिकल परीक्षकले गर्नेछन्।

जिल्ला प्रहरीले सार्वजनिक गरेको बयान अनुसार, कोफेलले वर्म्सरको टाउकोमा बेसबल ब्याटले हानेर हत्या गरेका थिए र शवलाई डेढ हप्ता आफ्नै कोठामा राखेका थिए। त्यसपछि शवलाई दुई भागमा टुक्र्याएर दुई वटा प्लास्टिकका झोलामा राखी ठूलो फोहोर बाकसमा फालेका थिए।

उनले वर्म्सरको शरीरको मुख्य भाग (टोरसो) एउटा सूटकेसमा राखी करिब ८०० फिट टाढा रहेको कर्नेल लेडयार्ड सिमेन्ट्रीको प्रवेशद्वारसम्म पुर्‍याएर छाडेका थिए।

उक्त सूटकेस १९ मार्चमा एक स्थानीय व्यक्तिले फेला पारेपछि घटनाको अनुसन्धान सुरु भएको थियो। ९ अप्रिलमा मेडिकल परीक्षकले वर्म्सरको मृत्यु हत्या भएको पुष्टि गरेका थिए।

अनुसन्धान क्रममा प्रहरीले कोफेलको पुरानो ठेगानामा पुगेर थप प्रमाण सङ्कलन गरेका थिए। घटनाअघि वर्म्सरले कोफेललाई आफ्नो फ्ल्याटमा बास दिएकी थिइन्। प्रहरीले बयान लिएका एक व्यक्तिका अनुसार, कोफेलले ती महिलाले आफूसँगको २०० डलर बराबरको लागूऔषध चोरेको भन्दै “मारिदिन्छु” भनेका थिए। दुई महिनापछि उनले फेरि ती महिलाको अब देखिनेछैन भनेर बताएका थिए।

कोफेललाई एक मिलियन डलर धरौटीमा राखिएको थियो। स्वास्थ्य समस्याका कारण उनले अन्तिमपटक भर्चुअलरूपमा अदालतमा हाजिर भएका थिए।