वासिङ्टन — अमेरिकाका संघीय अधिकारीहरूले भर्खरै देखा परेको भेनेजुएली आपराधिक गिरोह‘एण्टी-ट्रेन’ ट्रेन डे अरागुआभन्दा अझै हिंसात्मक हुनसक्ने र ग्रामीण अमेरिकामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका छन्।
यो गिरोहमा ट्रेन डे अरागुआका पूर्व सदस्यहरू मात्र रहेको बताइएको छ। हालै सार्वजनिक गरिएको एक संघीय अभियोगपत्रअनुसार गिरोहका २१ सदस्यहरूले न्यूयोर्क सहरमा लागूपदार्थ र वेश्यावृत्तिको कारोबार सञ्चालन गर्दै आएका थिए।
अभियोगपत्रमा भनिएको छ, “एण्टी-ट्रेन गिरोहले आफ्नो शक्ति र क्षेत्र जोगाउन हत्या, आक्रमण, डर त्रास फैलाउनेजस्ता हिंसात्मक गतिविधि गर्छ, जसमा ट्रेन डे अरागुआका सदस्यहरूमाथि समेत आक्रमण गरिन्छ।”
संघीय अधिकारीहरूका अनुसार, यो गिरोहले अवैध तरिकाले भेनेजुएली युवतीहरूको तस्करी, यौन शोषण, लागूपदार्थको कारोबार र हातहतियारसहितका डकैतीमा समेत संलग्नता जनाइरहेको छ।
अमेरिकी विदेश मन्त्रालयका पूर्व सहायक सचिव र मेन राज्यका गभर्नर पदका उम्मेदवार रोबर्ट चार्ल्सले भने, “यो गिरोहले आफैंलाई ट्रेन डे अरागुआभन्दा बढी खतरनाक देखाउन हिंसामा उत्रिरहेको देखिन्छ।”
उनका अनुसार, यस्तो प्रकारका गिरोहले कुनै क्षेत्रलाई नियन्त्रणमा लिन हिंसा, डर र धम्की प्रयोग गर्छन्। “एण्टी-ट्रेनले ग्रामीण बस्तीहरूमा साना जोखिममा ठूलो फाइदा लिन खोजिरहेको छ,” चार्ल्सले बताए।
“हामीजस्ता ग्रामीण राज्यहरूमा प्रहरी गस्तीको संरचना कमजोर छ, जसले गर्दा यस्ता गिरोहहरूका लागि लागूपदार्थ ओसारपसार गर्न र आफ्नो सञ्जाल फैलाउन सजिलो हुन्छ,” उनले भने।
चार्ल्सका अनुसार, यो गिरोहको संख्या अहिले धेरै छैन, तर यदि सुरक्षाकर्मीहरूले बेवास्ता गरे भने यो झनै फैलन सक्छ। “अपराधलाई नजरअन्दाज गरियो भने, त्यसले मौकाको फाइदा उठाउँछ र फैलिन्छ — यही त हो अपराधको स्वभाव,” उनले थपे।
एण्टी-ट्रेनको उपस्थिति न्यूयोर्क बाहिर पनि फैलिएको छ। सन् २०२४ को सेप्टेम्बरमा टेक्सासको डलास क्षेत्रमा एक धनी बस्ती ब्लफभ्युमा बस्ने एक महिला आफ्नै घरको पार्किङमा बन्दुक देखाएर लुटिएकी थिइन्।
उनलाई कुटपिट गर्दै घरभित्र बाँधेर राखिएको थियो। डकैतहरूले उनको औँला काट्ने धम्कीसमेत दिएका थिए।
प्रहरीका अनुसार यो घटना एण्टी-ट्रेनसँग सम्बन्धित सदस्यहरूले घटाएका थिए।