२ जेष्ठ २०८२, बिहिबार
15 May 2025, Thursday

अमेरिकामा जिपी कोईराला फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेलाई प्रतिष्ठित सेवा पुरस्कार

अमेरिकामा जिपी कोईराला फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेलाई प्रतिष्ठित सेवा पुरस्कार

न्युयोर्क- एशियन प्यासिफिक आईल्याण्डर हेरिटेज महिनाको अवसरमा आयोजित विशेष सम्मान समारोहमा जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरे “प्रतिष्ठित सेवा पुरस्कार” (Distinguished Service Award) बाट सम्मानित भएका छन्। सम्माननीय जिल्ला न्यायाधीश मेलिन्दा काजको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

जिपी कोईराला फाउन्डेशनका अध्यक्ष घिमीरेले विशेषत: कोभीड महामारीको कठिन समयदेखि अहिलेसम्म समाजसेवामा फाउन्डेशनको निरन्तर सक्रियता र योगदानको स्मरण गर्दै सो सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताए। उनले भने, “यो सम्मान मेरो व्यक्तिगत नभई सम्पूर्ण फाउन्डेशन टिम र सम्पूर्ण नेपाली समुदायको सम्मान हो। यसले हामीलाई अझ समर्पित भएर समाजसेवामा लाग्न उत्प्रेरणा दिएको छ।”

जज मेलिन्दा काजले घिमीरेको नेतृत्वमा फाउन्डेशनले अमेरिका लगायत नेपाल र विश्वका विभिन्न राष्ट्रहरूमा पुर्‍याउँदै आएको सेवा कार्यको प्रशंसा गर्दै, नेपाली समुदायका लागि यो एउटा ऐतिहासिक क्षण भएको बताइन्।

उक्त समारोहमा न्युयोर्क राज्यका विधानसभा सदस्य स्टीफन रागाले पनि अध्यक्ष घिमीरेलाई “Citation of Honor” द्वारा सम्मानित गरेका थिए। समारोहमा फाउन्डेशनका कोषाध्यक्ष रेखा श्रेष्ठ, कार्यसमिति सदस्यहरू सुर्य सिमंखडा र पासाङ गोपर्मा शेर्पा, समाजसेवीहरू उर्गेन शेर्पा, लाना तु, मिसेल बार्थ, अनवर मोहम्मद, माइल्स पार्कर, जिमी होंग, किट्टी लिईन, गीता अधिकारी, योगेन्द्र अधिकारी, दीपक रायमाझी, आंगेलु शेर्पा, सुकमान तामाङ, इन्द्र बुढा मगर, विद्यार्थी स्वयंसेवकहरू देविका कार्की, पूर्णिमा मगर, अमिता श्रेष्ठ, ग्रिश रायमाझी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

अध्यक्ष घिमीरेले स्वर्गीय गिरीजाप्रसाद कोईरालाको नाममा स्थापना गरिएको फाउन्डेशनले २०१९ देखि अमेरिका लगायत विश्वभरका ३६ भन्दा बढी मुलुकमा सेवा गर्दै आएको जानकारी गराउँदै, अमेरिकामा संस्था र टिमको भूमिकाको यथोचित मूल्याङ्कन हुनु अत्यन्त गर्वको विषय भएको बताए।

यसरी अमेरिकी न्यायिक निकायबाट उच्च सम्मान प्राप्त गर्ने जिपी कोईराला फाउन्डेशन पहिलो नेपाली मूलको संस्था बनेको छ। सामाजिक न्याय, सहयोग, र मानव सेवा कार्यमा समर्पित फाउन्डेशनले आगामी दिनहरूमा अझ सशक्त ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।