६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पारस्परिक आधारमा अमेरिकालाई करिब शून्य कर सम्झौताको प्रस्ताव गरेको बताएका छन्।

दोहामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले मूलतः हामीलाई कुनै अतिरिक्त शुल्क नलिने शर्तसहितको सम्झौताको प्रस्ताव गरेका छन्।’

उनले एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई भारतमा उत्पादन विस्तार गर्नुको साटो अमेरिकामा उत्पादन बढाउन प्रोत्साहित गरेको पनि उल्लेख गरेका छन्।

‘हिजो टिम कुकसँग मेरो केही समस्या थियो। मैले उहाँलाई एक मित्रका रूपमा धेरै राम्रो व्यवहार गर्नेछु भनेको छु। तपाईँ ५०० अर्ब डलर लिएर आउँदै हुनुहुन्छ भन्ने सुनेको थिए। तर मैले थाहा पाएअनुसार अहिले तपाईँ भारतभरि निर्माण गरिरहनुभएको छ भन्ने मैले सुनेको छु,’ ट्रम्पले भने,‘तपाईँ भारतमा निर्माण गर्नुस् भन्ने म चाहन्न। यदि तपाईँ भारतमा ध्यान केन्द्रित गर्न चाहनुहुन्छ भने मेरो भन्नु केही छैन। तर भारत विश्वको सबैभन्दा उच्च कर भएको देशहरूमध्ये एक हो, त्यसैले भारतमा बजार लिन धेरै गाह्रो हुनेछ।’

यसअघि एप्पलले अमेरिकी बजारका लागि तय गरिएका आइफोनको सबै उत्पादन भारतमा हस्तान्तरण गर्ने तयारी गरेको बताइएको थियो। भारतमा आफ्नो उत्पादन बढाउने एप्पलको निर्णय चीनबाट टाढा उत्पादन कार्यहरू विविधीकरण गर्ने उसको व्यापक लक्ष्यसँग मेल खान्छ।

यसैबीच भारतका वाणिज्यमन्त्री पियुष गोयल मे १६ मा अमेरिका जाँदै छन् र केही समयदेखि आधिकारिकस्तरमा जारी अग्रिम व्यापार वार्ता सुरु गर्ने भएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत अप्रिलमा अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौता गर्ने प्रयासस्वरुप नयाँ दिल्लीको भ्रमण गरेका थिए।

मैले भनेर नै भारत–पाकिस्तान तनाव अन्त्य भएको भन्दिनँ

राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको समस्या समाधान गर्न आफूले पहल गरेको दोहोर्‍याएका छन्। दोहामा अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘म यो भन्दिनँ कि मैले नै गरेको हुँ। तर, भारत र पाकिस्तानबीच बढेको तनाव समाधान गर्न मैले मद्त गरेँ,’ उनले भने,‘स्थिति तनावपूर्ण बनिरहेको थियो। त्यहाँ तपाईँ विभिन्नखाले मिसाइलहरू हेर्नु हुने थियो, तर, हामीले समाधान गर्‍यौँ।’

ट्रम्पले भारत र पाकिस्तानबीचको विवाद समाधान भइसकेको विश्वास व्यक्त गरे। आफूले दुवै देशलाई युद्ध छोडेर व्यापार गर्न सुझाव दिएको उनले बताए।

‘हामीले भारत र पाकिस्तानसँग व्यापारको विषयमा कुरा गर्‍यौँ। भने–व्यापार गरौँ, युद्ध होइन। पाकिस्तान योबाट धेरै खुसी थियो, भारत पनि खुसी भयो। दुवै मुलुक सही दिशामा अगाडि बढिरहेको मलाई लागेको छ।’

भारत–पाकिस्तानबीच चार दिनसम्म चलेको संघर्षपछि मे १० मा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको मध्यस्थतापछि दुवै देश संघर्षविरामका लागि तयार भएको दाबी गरेका थिए।

ट्रम्पको यो भनाइ आएलगत्तै पाकिस्तानले संघर्षविरामको घोषणा गर्दै अमेरिकालाई धन्यवाद दिएको थियो। भारतले पनि त्यही दिन संघर्षविराम गर्ने बताएको थियो। यद्यपि संघर्षविरामको घोषणा गर्दा भारतले अमेरिकाको नाम लिएको थिएन।