ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने
- ०६ जेष्ठ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन् । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेका हुन् ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उनले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गरे ।
तर पुटिनले अधिक संयमित स्वर अपनाए । उनले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिए ।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गरे ।
पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राखेका छन् । “मलाई विश्वास छ यो कुराकानी धेरै राम्रो भयो”, सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने, “रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।”
पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताए । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने, “यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।”