३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

ट्रम्प प्रशासनद्वारा न्यू जर्सीका चार शहरमाथि मुद्दा, ‘स्यान्क्चुरी सिटी’ नीतिका कारण संघीय कानुनमा बाधा पुगेको आरोप

ट्रम्प प्रशासनद्वारा न्यू जर्सीका चार शहरमाथि मुद्दा, ‘स्यान्क्चुरी सिटी’ नीतिका कारण संघीय कानुनमा बाधा पुगेको आरोप

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्यू जर्सीका चार सहरहरू  नेवार्क, होबोकेन, जर्सी सिटी र पाटरसन विरुद्ध संघीय आप्रवासन कानूनमा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको छ।

न्याय विभागद्वारा दायर मुद्दामा भनिएको छ कि यी शहरहरूले ‘स्यान्क्चुरी सिटी’ नीति अपनाएर संघीय अधिकारीहरूलाई गैरकानुनी आप्रवासन विरुद्धको अभियानमा रोक लगाइरहेका छन्। नेवार्कका मेयर रस बाराका, होबोकेनका रवि भल्ला, जर्सी सिटीका स्टिभन फुलप, र पाटरसनका आन्द्रे साएघ, साथै यी चारवटै शहरका सिटी काउन्सिलहरूलाई प्रतिवादी बनाइएको छ।

“यी नीतिहरू संघीय आप्रवासन कानून र त्यसलाई कार्यान्वयन गर्ने संघीय निकायमाथिको सीधा हमला हुन्,” मुद्दामा भनिएको छ।

मेयर बाराकालाई केही समयअघि नेवार्कस्थित आप्रवासन तथा भिसा प्रवर्तन केन्द्र (ICE) बाहिर विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो। त्यो मुद्दा खारेज गरिएको भए पनि सोही घटनामा अमेरिकी सांसद लामोनिका म्याकआइभरमाथि आक्रमणको आरोप लगाइएको छ।

“नेवार्कमाथिको मुद्दा हास्यास्पद छ,” मेयर बाराकाले विज्ञप्तिमा भने, “हामी सार्वजनिक सुरक्षामा बाधा बनिरहेका छैनौं, बरु संविधानको रक्षा गर्दै राज्यको कानुनको पालना गरिरहेका छौं।”

उनले संघीय आप्रवासन कानुन कार्यान्वयन सहरको जिम्मेवारी नभएको भन्दै अदालतले पनि त्यसलाई पुष्टि गरिसकेको बताए।

होबोकेनका मेयर रवि भल्लाले भने, “हामी न्यायका पक्षमा छौं, यस मुद्दालाई अदालतमा लड्नेछौं, र ट्रम्प प्रशासनको अन्यायपूर्ण कार्यशैलीको प्रतिकार गर्नेछौं।”

जर्सी सिटीका मेयर फुलपले एक्स (पूर्व ट्विटर) मा प्रतिक्रिया दिँदै लेखे, “हामी स्यान्क्चुरी सिटी भएका कारण मुद्दा खाइरहेका छौं — माया गनाको हप्ता सकिएछ शायद। हाम्रो नीति आप्रवासी परिवारको सुरक्षा गर्छ, अपराध घटाएको छ, र हाम्रो मूल्य झल्काउँछ। हामी डराउने छैनौं, लड्नेछौं — र जित्नेछौं।”

कार्यवाहक सहायक महान्यायाधिवक्ता याकोभ रोथले भने, “स्थानीय नीतिहरूले संघीय आप्रवासन कार्यान्वयनमा बाधा पुर्‍याइरहेका छन्।”

संयुक्त राज्य अमेरिकामा आप्रवासनको संकट समाधान गर्न चाहने स्थानीय अधिकारीहरूलाई पनि ती नीतिहरूले रोकिरहेको उनले बताए। “यसले अधिकारीहरूको सुरक्षामात्र होइन, सम्पूर्ण समुदायको सुरक्षामा खतरा निम्त्याउँछ,” उनले लेखे।

महान्यायाधिवक्ता पामेला बोंडीले भने, “हालैका घटनाहरूले देखाउँछ कि न्यू जर्सीका यी अधिकारीहरू आफ्ना समुदायको सुरक्षाभन्दा राजनीतिक नौटंकीमा बढी रुचि राख्छन्। संघीय आप्रवासन कानुनमा बाधा पु¥याउने स्यान्क्चुरी सिटी अधिकारीहरूको लागि अझ मुद्दा आउँदैछ।”

प्रभावित चारवटै शहरका मेयरहरूले संविधानको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको, आफ्ना समुदायका अधिकार र सुरक्षा सुनिश्चित गर्न लडिरहने स्पष्ट सन्देश दिएका छन्। ट्रम्प प्रशासनको यो कदमले अमेरिकी संघीयता र स्थानीय स्वायत्तताको सीमा तथा अधिकारबारे पुनः बहस चर्काएको छ।