टेक्सास- टेक्सास राज्यको सभाले सेनेट बिल ८ लाई प्रारम्भिक स्वीकृति दिएको छ, जसले सबै काउन्टीका शेरिफहरूलाई संघीय आप्रवासन निकाय ICE सँग अनिवार्य रूपमा सहकार्य गर्नुपर्ने बनाउँछ।
शनिबार भएको मतदानमा ८९–५० को मतान्तरले यो विधेयक टेक्सास हाउस बाट प्रारम्भिक स्वीकृत भएको हो। विधेयकका प्रस्तावक रिपब्लिकन सांसद डेभिड स्पिलरले यसलाई सुरुमा १ लाखभन्दा बढी जनसंख्या भएका काउन्टीमा मात्र लागू हुने बनाएका थिए तर संशोधन गरेर सबै काउन्टीमा लागू हुने बनाइएको छ।
सांसद स्पिलरले भने, “यो विधेयक अप्रवासन सुधार होइन, तर यो सत्रको सबैभन्दा बलियो सीमासुरक्षा सम्बन्धी विधेयक हो।”
अब यो विधेयक एकपटक पुनः टेक्सास हाउस बाट पारित भएपछि सेनेट मा फिर्ता पठाइनेछ, जहाँ त्यहाँका सांसदहरूले संशोधनहरू स्वीकार्ने वा दुवै सदनबीच समन्वय गर्नुपर्नेछ। त्यसपछि मात्रै यो विधेयक रिपब्लिकन राज्यपाल ग्रेग एबटको हस्ताक्षरका लागि पठाइनेछ।
राज्यपालका उपप्रवक्ता एडुआर्डो लियलले भने, “राज्यपाल एबटले टेक्सासका सहर तथा काउन्टीहरूलाई संघीय आप्रवासन कार्यान्वयनमा पूर्ण रूपमा सहकार्य गर्न स्पष्ट निर्देशन दिएका छन्। राज्यपालले यस विधेयकलाई अन्य विधेयकजस्तै समीक्षा गर्नेछन्।”
यो विधेयक पारित भएपछि, टेक्सासका शेरिफहरूले ICE सँग २८७(g) सम्झौता गर्नुपर्नेछ, जसअनुसार संघीय अधिकारीहरूले स्थानीय जेलमा आप्रवासन कार्यान्वयनको जिम्मा स्थानान्तरण गर्न सक्नेछन्।
सम्झौतामा समावेश हुने विषयहरू:
– थुनुवाहरूको आप्रवासन स्थितिबारे सोधपुछ गर्ने अधिकार
– संघीय प्रशासनिक वारन्ट जारी गर्ने अधिकार
– टास्क फोर्स मोडेल अन्तर्गत सामान्य चेकपोइन्टहरूमा समेत आप्रवासन स्थितिको छानबिन
यदि कुनै शेरिफले उक्त सहकार्य गर्न अस्वीकार गरेमा, टेक्सासका अटर्नी जनरल ले उनीहरूविरुद्ध मुद्दा दायर गर्न सक्नेछन्।
संघीय सरकारले खर्च नदिएको अवस्थालाई ध्यानमा राख्दै, विधेयकले सहभागी काउन्टीहरूलाई अनुदान दिने व्यवस्था पनि गरेको छ।
हालसम्म टेक्सासका ७२ वटा कानून कार्यान्वयन निकायले ICE सँग २८७(g) सम्झौता गरेका छन् भने थप ४ वटा शेरिफ कार्यालयका प्रस्तावहरू प्रक्रियामा छन्।
तर अप्रवासी अधिकारकर्मीहरूले यो विधेयकले कालो र खैरो वर्णका समुदायमाथि जातीय पहिचानका आधारमा दमन हुने, डर सिर्जना गर्ने, र पीडित व्यक्तिहरूले अपराध रिपोर्ट गर्न नसक्ने वातावरण बनाउने भन्दै कडा आलोचना गरेका छन्।
यो विधेयक डोनाल्ड ट्रम्प प्रशासनको कठोर आप्रवासन नीति र सामूहिक निर्वासन योजनालाई पुनः सशक्त बनाउने प्रयासको रूपमा हेरिएको छ। तर अर्कोतर्फ, यो कदमले टेक्सासमा सामाजिक डर, विभाजन, र न्याय प्रक्रियामा असमानता निम्त्याउने चिन्ता पनि बढाएको छ।