फिनिक्समा घर फोडी गर्ने दक्षिण अमेरिकी गिरोहका ७ सदस्य पक्राउ
- १२ जेष्ठ २०८२
- १ मिनेटको पढाई
फिनिक्स — एरिजोनाको फिनिक्स क्षेत्रमा दुई स्थानमा घर फोडी गरेको आरोपमा ‘साउथ अमेरिकन थेफ्ट ग्रुप’ (SATG) भनिने चोरी गिरोहका सात जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई शुक्रबार साँझ स्कट्सडेलस्थित एक शॉर्ट–टर्म भाडाको घरबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूले यही मे २३ मा टेम्पे र मेसा क्षेत्रमा दुई वटा घरमा चोरी गरेका थिए। स्कट्सडेल प्रहरीले शनिबार दिएको जानकारी अनुसार, पक्राउ परेकाहरू सबै कोलम्बियाली नागरिक हुन्, र उनीहरू यसअघि क्यालिफोर्निया, ओरेगन र वासिंगटन राज्यमा पनि यस्तै प्रकारका फोडीमा संलग्न रहेको खुलाइएको छ।
स्कट्सडेल प्रहरीलाई मे २० मा क्यालिफोर्नियाको बर्बैंक प्रहरी विभागले उक्त गिरोहको बारेमा चेतावनी दिएको थियो। बर्बैंक प्रहरीले गिरोहको गाडी र परिचयसम्बन्धी विवरणहरू एरिजोनाका सुरक्षा निकायसँग साझा गरेको थियो। सोही आधारमा स्कट्सडेल प्रहरीले निगरानी राख्दै उक्त गिरोहलाई ट्र्याक गरेको बताएको छ।
मे २० देखि २२ सम्म प्रहरी अधिकारीहरूले निगरानीमा राखेका उनीहरूलाई मे २३ मा चोरी गरिरहेको अवस्थामा समातिएको हो। प्रहरीका अनुसार, सातैजनाले योजना मिलाएर चोरीमा संलग्न भएका थिए। उनीहरू चोरीका लागि घरमा प्रवेश गर्ने, सामान उठाउने र निगरानी गर्ने कार्यमा संलग्न थिए।
पक्राउ परेकाहरूमा निकोलस रोजास लियोन (२३), जोआन सेबास्टियन ओरोस्को–भार्गास (२६), आन्द्रेस डेविड सान्चेज–नोभोआ (३८), नतालिया इसाबेला ओर्टिज–डाजा (२६), मार्था जुलियाना एचिभेरी–गुजमान (२८), लेडी जोहाना गुएइटो (३२) र एन्जी पाओला हेर्नान्देज–मानरिक (२५) छन्।
चोरीका क्रममा क्यालिफोर्नियाबाट हराएको एक फ्रेन्च बुलडग जातको कुकुरसमेत फेला परेको छ र उसलाई वास्तविक मालिकलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।
यस घटनाले राज्यहरूबीच अपराध नियन्त्रणका लागि सहकार्य र सूचनाको आदान–प्रदान कति प्रभावकारी हुन सक्छ भन्ने देखाएको सुरक्षा अधिकारीहरूले बताएका छन्। पक्राउ परेकामाथि अब चोरी र आपराधिक समूहमा संलग्नतासहितका अभियोगमा मुद्दा दर्ता गरिने बताइएको छ।