ट्रम्पको विलयको खतराबीच राजा चार्ल्सले क्यानाडाको संसद्मा मार्क कार्नीको प्राथमिकताहरूको रूपरेखा दिने
- १३ जेष्ठ २०८२
- २ मिनेटको पढाई
ओटावा- राजा चार्ल्स तृतीयले मङ्गलबार क्यानाडाको संसद्मा नयाँ प्रधानमन्त्री मार्क कार्नीको सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नेछन् । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विलय धम्कीहरूका सामना गर्ने समर्थनका रूपमा व्यापक रूपमा हेरिएको छ ।
अमेरिकाले क्यानाडालाई विलय गर्ने ट्रम्पको बारम्बार सुझावले प्रधानमन्त्री कार्नीलाई चार्ल्सलाई सिंहासनबाट भाषण दिन आमन्त्रणा गर्न प्रेरित गर्यो । राजा क्यानाडाको राष्ट्र प्रमुख हुन् । क्यानाडा पूर्व उपनिवेशहरूको ब्रिटिश राष्ट्रमण्डलको सदस्य हो ।
कार्नीले एक वक्तव्यमा यो भ्रमणले ‘हाम्रो संवैधानिक राजतन्त्र र हाम्रो विशिष्ट पहिचानको जीवन्तता’ को कुरा गरेको बताए ।
क्यानाडामा राजाले सिंहासनबाट भाषण दिनु दुर्लभ छ । चार्ल्सकी आमा रानी एलिजाबेथ द्वितीयले आफ्नो ७० वर्षको शासनकालमा दुई पटक मात्र यस्तो गरेका थिए र उनले अन्तिम पटक सन् १९७७ मा भाषण गरेका थिए ।
यो भाषण राजा वा उनका बेलायती सल्लाहकारहरूले लेखेका छैनन् किनकि चार्ल्सले निष्पक्ष राष्ट्र प्रमुखका रूपमा सेवा गर्छन् । उनले क्यानाडा सरकारले उनको अगाडि राखेको कुरा पढने छन् ।
नयाँ प्रधानमन्त्री एवं बैंक अफ इङ्गल्यान्डका पूर्व प्रमुख कार्नी तथा क्यानाडामा राजाकी प्रतिनिधि एवं क्यानाडाकी पहिलो आदिवासी गभर्नर जनरल मेरी साइमनले सोमबार राजासँग भेट गरे ।
क्यानाडालीहरू राजतन्त्रप्रति धेरै उदासीन छन्, तर कार्नी क्यानाडा र संयुक्त राज्य अमेरिकाबीचको भिन्नता देखाउन उत्सुक छन् । राजाको भ्रमणले स्पष्ट रूपमा क्यानाडाको सार्वभौमसत्तालाई जोड दिने उनले बताए ।
कार्नीले ट्रम्पले देखाएको बढ्दो आक्रामकताको सामना गर्ने वाचा गरेर प्रधानमन्त्रीको पद जितेका थिए ।
क्यानाडाका नयाँ अमेरिकी राजदूत पिट होएकस्ट्राले अमेरिकालाई सन्देश पठाउनु आवश्यक नभएको र क्यानाडालीहरूले ५१औँ राज्यको कुराकानीबाट अगाडि बढ्नुपर्ने बताए ।
उनले क्यानाडाली प्रसारण निगमलाई यदि कुनै सन्देश पठाउनुपर्छ भने उनलाई कल गर्ने वा राष्ट्रपतिलाई कल गर्ने जस्ता सजिलो तरिकाहरू रहेको बताए ।
घोडसवार गाडीले राजा र रानीलाई भाषणका लागि क्यानडाको सिनेट भवनमा लैजानेछ । यसमा २८ वटा घोडा हुनेछन्–१४ वटा अघि र १४ वटा पछि । राजाले आफ्नो भाषणका लागि च्याम्बरमा प्रवेश गर्नुअघि रोयल क्यानेडियन रेजिमेन्टको तेस्रो बटालियनबाट एक सय जनाको गार्ड अफ अनरबाट रोयल सेल्युट प्राप्त गर्नेछन् ।
भाषण र क्यानाडाको राष्ट्रिय युद्ध स्मारकको भ्रमणपछि राजा बेलायत फर्किने छन् ।