२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ओबामाको घरबाहिर कुटाकुट गर्ने दुई सिक्रेट सर्भिस अफिसर निलम्बित

ओबामाको घरबाहिर कुटाकुट गर्ने दुई सिक्रेट सर्भिस अफिसर निलम्बित

वासिङ्टन— पूर्वराष्ट्रपति बाराक ओबामाको वासिङ्टन डीसीस्थित निवासबाहिर आपसमा कुटाकुटमा उत्रिएका दुई अमेरिकी सिक्रेट सर्भिस अफिसरहरूलाई निलम्बन गरिएको छ।

घटना गत साता, मे २१ तारिख बिहान २:३० बजे भएको हो। सार्वजनिक भएको अडियो र भिडियो अनुसार, दुई महिला अफिसरहरूबीच बाक्लो भनाभनपछि हात हालाहाल भएको देखिएको छ।

“मिलाउँन सूपरभाइजर पठाउनुस्… नत्र म यस केटीको धुलाई गर्छु,” एक अफिसरले रेडियोमार्फत भनेको अडियोमा सुन्न सकिन्छ। त्यसपछि उनीहरूबीच मुक्कामुक्की र धकेलाधकेल भएको भिडियो RealClearPolitics ले मंगलबार सार्वजनिक गरेको छ।

सिक्रेट सर्भिसले यो घटनाको पुष्टि गर्दै बयानमा भनेको छ, “संबन्धित व्यक्तिहरूलाई ड्युटीबाट निलम्बन गरिएको छ र यस विषयमा आन्तरिक छानबिन भइरहेको छ। सिक्रेट सर्भिसमा आचरणसम्बन्धी निकै कडा नियम लागू हुन्छ र यस्तो कुनै व्यवहार स्वीकार्य हुँदैन।”

संस्थाका प्रवक्ताले थप विवरण दिन अस्वीकार गर्दै यो कर्मचारीसम्बन्धी गोप्य विषय भएको बताएका छन्।

ओबामाको सुरक्षामा खटिएका अफिसरहरूकै बीच यस्तो अस्वाभाविक घटना हुनु अमेरिकी सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको बताइएको छ।