वासिङ्टन- मानव–निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको आधा जनसंख्याले एक महिना बढी चरम गर्मी सहनुपरेको एक नयाँ अध्ययनले पत्ता लगाएको छ। यो अध्ययनले जीवाश्म इन्धनको निरन्तर प्रयोगले प्रत्येक महाद्वीपमा स्वास्थ्य र जन कल्याणमा कसरी हानि पुर्याइरहेको छ भन्ने कुरालाई जोड दिएको छ। विशेषगरी विकासोन्मुख देशहरूमा यसको प्रभाव कम पहिचान भएको अध्ययन प्रतिवेदनका लेखकहरूले औँल्याएका छन्।
इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक तथा प्रतिवेदनका सह-लेखक फ्राइडेरिक ओटो भन्छन्, “जति धेरै तेल जलाइन्छ, उति धेरै कार्बन डाइअक्साइड निस्किन्छ र जति धेरै तापक्रम बढ्छ, त्यति नै धेरै मानिस गर्मीको चपेटामा पर्नेछन्।”
वर्ल्ड वेदर एट्रिब्युसन, क्लाइमेट सेन्ट्रल र रेड क्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका वैज्ञानिकले गरेको यो विश्लेषण विश्वव्यापी गर्मी कार्य दिवस (जुन २) अघि सार्वजनिक गरिएको हो। यस विश्लेषणले यस वर्ष गर्मीले हुने थकान र लूको खतरालाई पनि उजागर गरेको छ।
ग्लोबल वार्मिङको प्रभावको मूल्यांकन गर्न शोधकर्ताहरूले सन् २०२४ मे १ देखि सन् २०२५ मे १ सम्मको तापक्रम विश्लेषण गरेका थिए। उनीहरूले सन् १९९१ देखि २०२० सम्मको तापक्रमको ९० प्रतिशतभन्दा बढी तातो दिनलाई ‘चरम गर्मीको दिन’का रूपमा परिभाषित गरे। उनीहरूले मानव–निर्मित ग्लोबल वार्मिङ नभएको संसारसँग तुलना गर्न एक मोडलिङ विधि पनि प्रयोग गरेका थिए।सहकर्मी–समीक्षित मोडलिङ दृष्टिकोण प्रयोग गरेर उनीहरूले त्यस्ता दिनको संख्यालाई मानवीय कारणले हुने तापक्रम वृद्धिबिनाको ‘सिमुलेटेड विश्व’सँग तुलना गरेका थिए।
नतिजा स्पष्ट थियो: लगभग चार अर्ब मानिस (विश्व जनसंख्याको ४९ प्रतिशत)ले अन्यथा अनुभव गर्नेभन्दा कम्तीमा ३० दिन बढी चरम गर्मी अनुभव गरे। यस अवधिमा ६७ वटा चरम गर्मीका घटना पहिचान गरियो र ती सबैमा जलवायु परिवर्तनको प्रभाव देखिएको थियो।
क्यारिबियन टापु अरुबा सबैभन्दा बढी प्रभावित भयो, जहाँ १८७ चरम गर्मीका दिन रेकर्ड भएको थियो। यो जलवायु परिवर्तन नभएको संसारमा अपेक्षा गरिएको भन्दा ४५ दिन बढी हो।
यो अध्ययन प्रतिवेदन अभूतपूर्व विश्वव्यापी तापक्रमको एक वर्षपछि सार्वजनिक भएको हो। सन् २०२३ को रेकर्ड तोड्दै सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको बनेको थियो। यद्यपि २०२५ जनवरी अहिलेसम्मकै सबैभन्दा तातो जनवरी बन्यो।
औसत पाँच वर्षमा विश्वव्यापी तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.३ डिग्री सेल्सियस बढी देखिएको छ। सन् २०२४ मा मात्रै त्यसले पेरिस जलवायु सम्झौताद्वारा तोकिएको प्रतीकात्मक सीमा १.५ डिग्री सेल्सियस नाघेको थियो।
प्रतिवेदनले कम आय भएका क्षेत्रहरूमा गर्मीसम्बन्धी स्वास्थ्य प्रभावको तथ्यांक अभावलाई पनि उजागर गरेको छ। युरोपमा सन् २०२२ को गर्मीमा ६१ हजारभन्दा बढी गर्मीसम्बन्धी मृत्युका घटना रेकर्ड गरिएका थिए। अन्यत्र यस्ता तुलनात्मक तथ्यांक विरलै पाइने, धेरै गर्मीसम्बन्धी मृत्युलाई मुटु वा फोक्सोको रोगजस्ता अन्तर्निहित अवस्थाका कारण भएको ठान्ने गरेको लेखकहरूले बताएका छन्।
लेखकहरूले प्रारम्भिक चेतावनी प्रणाली, सार्वजनिक शिक्षा र शहरअनुरूप तापक्रम न्यूनीकरण कार्य योजनाको आवश्यकतामा जोड दिएका छन्। छाया र भेन्टिलेसनसहित राम्रो भवन डिजाइन र चरम गर्मीको समयमा कडा गतिविधिबाट बच्ने जस्ता व्यावहारिक समायोजन पनि आवश्यक रहेको उनीहरूले औँल्याएका छन्। तैपनि अनुकूलन मात्र पर्याप्त नहुने भन्दै बढ्दो गम्भीरता र चरम गर्मीको आवृत्ति रोक्ने एक मात्र तरिका भनेको जीवाश्म इन्धन द्रुत रूपमा चरणबद्ध रूपमा हटाउनु रहेको लेखकले चेतावनी दिएका छन्।