ह्वाइट हाउसले इरानलाई ‘स्वीकार्य’ आणविक सम्झौताको प्रस्ताव पठाएको छ :अमेरिकी मिडिया
- १८ जेष्ठ २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको एक प्रस्ताव पठाएको छ । उक्त प्रस्तावलाई ह्वाइट हाउसले ‘स्वीकार्य’ र स्वीकार गर्नु इरानको ‘सर्वोत्तम हित’ मा रहेको बताएको अमेरिकी मिडियाले शनिबार रिपोर्ट गरेको छ ।
यो प्रस्ताव संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले इरानले उच्च संवर्धित युरेनियमको उत्पादन बढाएको भनेको केही समयपछि आएको हो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानको भ्रमणका क्रममा उहाँका ओमानी समकक्षीले उनलाई ‘अमेरिकी प्रस्तावका तत्वहरू’ प्रस्तुत गरेको बताए ।
“विशेष दूत विटकफले इरानी शासनलाई विस्तृत र स्वीकार्य प्रस्ताव पठाउनुभएको छ र यसलाई स्वीकार गर्नु उनीहरूको सर्वोत्तम हितमा छ”, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले न्युयोर्क टाइम्सलाई बताए ।
कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सका अनुसार यो प्रस्तावलाई पूर्ण मस्यौदाको सट्टा बुलेट विन्दुहरूको शृङ्खलाका रूपमा वर्णन गरिएको छ ।
यसले इरानलाई युरेनियमको सबै संवर्धन रोक्न आह्वान गर्दछ र आणविक ऊर्जा उत्पादन गर्न क्षेत्रीय समूह बनाउने प्रस्ताव गर्दछ, जसमा इरान, साउदी अरेबिया र अन्य अरब राज्यहरू साथै संयुक्त राज्य अमेरिका समावेश हुनेछन् ।
सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेको प्रमुख शक्तिहरूसँगको सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरानले अमेरिकासँग पाँच चरणको वार्ता गरेको छ ।
अराघचीले शनिबार इरानले आणविक हतियारहरूलाई ‘अस्वीकार्य’ ठानेको बताएका थिए ।
ट्रम्पले इरानसँग ‘आणविक हतियार हुन सक्दैन’ भन्दै चाँडै सम्झौता गर्ने आशा व्यक्त गरेको एक दिनपछि उनको यस्तो टिप्पणी आएको हो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को पछिल्लो रिपोर्टअनुसार इरानले आफ्नो युरेनियमको भण्डार तीव्र रूपमा बढाएर ६० प्रतिशतसम्म पु¥याएको छ । यो आणविक हतियारका लागि आवश्यक लगभग ९० प्रतिशतको नजिक छ ।