१ असार २०८२, आइतवार
15 June 2025, Sunday

बोल्डर आतंकवादी आक्रमण : इजरायली समर्थकमाथि लक्षित आक्रमणमा ६ घाइते

बोल्डर आतंकवादी आक्रमण : इजरायली समर्थकमाथि लक्षित आक्रमणमा ६ घाइते

न्युयोर्क- कोलोराडोको बोल्डरमा इजरायली बन्धकमुक्तिको पक्षमा शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि भएको आगलागी आक्रमणलाई एफबीआईले लक्षित आतंकवादी कार्य मानेको छ। आक्रमणमा संलग्न ४५ वर्षीय मोहम्मद साब्री सोलिमानलाई घटनास्थलबाटै पक्राउ गरिएको छ।

शनिबार दिउँसो १:२६ बजे पर्ल स्ट्रिटस्थित काउन्टी कोर्टहाउस नजिकै प्रदर्शन भइरहेकै बेला सोलिमानले “फ्री प्यालेस्टाइन” भन्दै पेट्रोल बम प्रहार गरी मानिसहरूलाई आगो लगाएको बताइएको छ। घटनामा ६ जना, जसको उमेर ६७ देखि ८८ वर्षसम्म छ, गम्भीर घाइते भएका छन्।

एफबीआईका अनुसार यो आक्रमण “विचारधारामा आधारित हिंसा” अन्तर्गतको आतंकवाद हो। घटनास्थलमा भेटिएका भिडियोहरूमा सोलिमानले “तिमीहरूले कति बच्चा मारेउ,” “जायनिस्टहरूलाई अन्त्य गर्नुपर्छ,” जस्ता उग्र भनाइहरू बोलेको देखिन्छ।

प्रदर्शन “Run for Their Lives” नामक संगठनद्वारा आयोजित थियो, जसले गाजामा हमासद्वारा कब्जामा परेका इजरायली बन्धकहरूको रिहाइको माग गर्दै विश्वभर प्रदर्शनहरू गर्दै आएको छ।

घटनापछि वरपरका क्षेत्र खाली गराएर अनुसन्धान जारी गरिएको छ। प्रहरीले शंकास्पद सवारीसाधनसमेत जाँच गरिरहेको बताएको छ। कोलोराडोका महान्यायाधिवक्ता फिल वाइजरले यो आक्रमणलाई घृणावशत गरिएको अपराध भनेका छन्।

घटनाले अमेरिकाभर, विशेषगरी यहूदी समुदायमा त्रास फैलाएको छ। इजरायलका राष्ट्रसंघका राजदूत ड्यानी डेननले यसलाई “खुला आतंकवाद” भनेका छन्।

एफबीआई, राष्ट्रिय आतंकवाद प्रतिरोध केन्द्र र स्थानीय सुरक्षाकर्मीहरू मिलेर घटनाको छानबिन गरिरहेका छन्। इस्रायली बन्धकको पक्षमा भएको प्रदर्शनमाथि यस्तो आक्रमणको व्यापक आलोचना भएको छ।