न्यूआर्क— न्यूआर्क लिबर्टी इन्टरनेसनल एयरपोर्टको तीन मुख्य धावनमार्गमध्ये एकको निर्माण कार्य समयभन्दा करिब दुई हप्ता अघिनै पूरा भएपछि, संघीय उड्डयन प्रशासन (FAA) ले अर्को साता नै उडान सीमा बढाउने तयारी गरेको छ।
हालै समाप्त भएको १२१ मिलियन अमेरिकी डलर बराबरको निर्माण परियोजना १३ दिन अगावै सम्पन्न भएको हो। धावनमार्ग सोमबारदेखि प्रस्थान (departure) का लागि प्रयोगमा आए पनि, आगमन (arrival) का लागि प्रयोग गर्नुअघि अझै केही उपकरण परीक्षण बाँकी रहेको संघीय यातायात मन्त्री सीन डफीले सोमबार जानकारी दिए। सबै कुरा ठीक भएमा, धावनमार्ग जुन १० भित्र प्रयोगका लागि प्रमाणित हुने अपेक्षा गरिएको छ।
तर न्यूआर्क विमानस्थलले यस वसन्त याममा विभिन्न उडान रद्द तथा ढिलाइहरू भोगिरहेको छ, मुख्यतः विमान यातायात नियन्त्रकहरूको अभाव र फिलाडेल्फियास्थित नियन्त्रण केन्द्रमा दुई पटक प्रविधिमा आएको गडबडीका कारण।
एप्रिल २८ मा पहिलोपटक रेडार र सञ्चार प्रणाली बिग्रँदा पाँच नियन्त्रकहरू ४५ दिनको ‘ट्रमा बिदामा गएका थिए भने अर्का एक जना चिकित्सा कारणले बिदामा छन्। हाल फिलाडेल्फियामा १६ प्रमाणित नियन्त्रक र ५ सुपरवाइजर मात्र कार्यरत छन्।
हाल न्यूआर्क विमानस्थलमा FAA ले उडान सीमा घटाएर प्रति घण्टा २८ आगमन र २८ प्रस्थानमा सीमित गरेको छ। तर निर्माण सम्पन्न भएसँगै FAA ले ३४ आगमन र ३४ प्रस्थान प्रति घण्टा अनुमति दिने योजना बनाएको छ।
FAA का अनुसार आवश्यक संख्यामा नियन्त्रक उपलब्ध भएकाले उक्त सीमा कार्यान्वयन गर्न सकिनेछ।
युनाइटेड एयरलाइन्सका सीईओ स्कट किर्बीले FAA द्वारा सुनिश्चित सीमा तय गरिनु न्यूआर्कको दीर्घकालीन सुधारका लागि “टर्निङ पोइन्ट” भएको बताएका छन्।
विगतमा एयरलाइन्सहरूले न्यूआर्क विमानस्थलको क्षमता भन्दा अधिक उडानहरू तालिकाबद्ध गर्ने गर्दथे, जसका कारण ढिलाइ र रद्द हुने समस्याहरू दोहोरिने गरेका थिए।
उडान सीमित हुँदा पनि बढी यात्रु राख्न युनाइटेड एयरलाइन्सले ठूला विमान प्रयोग गरिरहेको छ। तर, लगातार आएका नकारात्मक समाचारहरूसँगै टिकट बिक्री घटेको भन्दै, किर्बीले हाल न्यूआर्कबाट यात्रा गर्न चाहनेले सस्तो भाडामा टिकट पाउन सक्ने सम्भावना रहेको बताए।
FAA ले अक्टोबरमा पुनः सीमा समीक्षा गर्ने बताएको छ, त्यसबेलासम्म अझ बढी नियन्त्रकहरू प्रशिक्षण पूरा गरी प्रमाणित हुने अपेक्षा गरिएको छ।
यसैबीच, भविष्यमा यस्ता प्राविधिक समस्याहरू दोहोरिन नदिन, फिलाडेल्फिया र न्यूयोर्कबीच नयाँ फाइबर अप्टिक लाइन जडान गरिएको छ, जुन जुलाईमा परीक्षण सकेपछि प्रयोगमा आउनेछ।
डफीले राष्ट्रव्यापी रूपमा एयर ट्राफिक नियन्त्रण प्रणाली पुरानो प्रविधिमा आधारित रहेकाले, यस्ता समस्याहरू देशभर कहीं पनि दोहोरिन सक्ने खतरा रहेको भन्दै, नयाँ प्रविधिमा सुधार गर्न खर्चिलो योजना प्रस्ताव गरिरहेका छन्।
तर, संघीय बजेट कटौतीको प्रस्तावबीच उक्त योजना पारित गर्न कांग्रेसको समर्थन जुटाउन चुनौति रहेको छ।