वासिङ्टन- टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको विवादलाई कम गर्ने प्रयासस्वरूप आज (शुक्रवार) वाडट हाउसका केही सहयोगीसँग छलफल गर्न सक्ने सम्भावना रहेको फक्स न्यूज ले जनाएको छ।
हालै मस्क र ट्रम्पबीच सामाजिक सञ्जालमा तीव्र मतभेद देखिएको छ। ट्रम्पलाई मस्कप्रति एक महिनादेखि झोक चलिरहेको थियो, र यही कारण विवाद चुलिएको हो।
वाडट हाउसका केही सहयोगीहरूले डुसीलाई आज ट्रम्प र मस्कबीच प्रत्यक्ष संवाद हुने सम्भावना नरहेको बताएका छन्। तर ट्रम्प प्रशासनका केही कर्मचारीहरू मस्कसँग सम्पर्क गरेर अवस्थालाई सहज बनाउने प्रयासमा लाग्न सक्ने बुझिएको छ।
यसैबीच, यस वर्षको सुरुवातमा वाडट हाउसको प्राङ्गणमा भएको टेस्ला प्रदर्शनको क्रममा ट्रम्पले खरिद गरेको रातो टेस्ला गाडी हाल बिक्रीमा राखिने वा उपहारस्वरूप दिइने चर्चा भएको छ। फ्लोरिडा नम्बर प्लेट रहेको उक्त गाडी हालसम्म वाडट हाउस नजिकै पार्किङमा राखिएको छ।
मस्कले बिहीबार ट्रम्पलाई जेफ्री एपस्टिनसँग जोडिएको आरोप लगाउँदै “@RealDonaldTrump एपस्टिन फाइलमा छन्। त्यसैले ती सार्वजनिक गरिएको छैनन्। रमाइलो दिन होस्, DJT!” भनेर एक्स (पूर्व ट्विटर) मा पोस्ट गरेका थिए।
त्यसपछि अर्को पोस्टमा उनले भनेका छन्, “यो पोस्ट भविष्यका लागि सुरक्षित राख्नुहोस्। सत्य बाहिर आउनेछ।”
वाडट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले यो प्रसङ्गलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै मस्कको असन्तुष्टि नयाँ विधेयकमा आफूले चाहेका नीतिहरू समावेश नभएकै कारण भएको बताइन्। “राष्ट्रपति अहिले ऐतिहासिक विधेयक पारित गराउने र देशलाई पुनः महान बनाउने दिशामा केन्द्रित हुनुहुन्छ,” उनले भनिन्।
त्यसको जवाफमा ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, “एलन ‘परेशान’ भइरहेका थिए, मैले उनलाई बाहिर जान भनेँ, म उनलाई दिइएको इलेक्ट्रिक कार खरिद गर्ने सरकारी म्यान्डेट फिर्ता लिएँ (जसको जानकारी उनलाई महिनौँअगाडि नै थियो!), अनि उनी पागलजस्तै भए!”
ट्रम्पले थप लेखेका छन्, “हाम्रो बजेटमा अर्बौँ डलर बचत गर्ने सबैभन्दा सजिलो उपाय भनेको एलनलाई दिइएको सरकारी अनुदान र ठेक्का अन्त्य गर्नु हो। म सधैँ अचम्ममा पर्थेँ कि बाइडेनले त्यो किन गरेनन्!”
यो घटनाले मस्क र ट्रम्पबीचको सम्बन्ध थप बिग्रिएको सङ्केत दिएको छ भने आगामी दिनमा दुबै पक्षको व्यवहारले राजनीतिक र व्यापारिक वृत्तमा थप तरङ्ग ल्याउने अनुमान गरिएको छ।