३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

कृष्ण आचार्य “आईकन अफ दि नेपाल डे परेड २०२५” बाट सम्मानित

कृष्ण आचार्य “आईकन अफ दि नेपाल डे परेड २०२५” बाट सम्मानित

न्युयोर्क — हालै म्यानह्याटन, न्युयोर्कमा सम्पन्न सातौं नेपाल डे परेड २०२५ मा महत्वपूर्ण योगदान पुर्‍याएको कदरस्वरूप कृष्ण आचार्यलाई “आईकन अफ दि नेपाल डे परेड २०२५” उपाधिबाट सम्मान गरिएको छ।

नेपाल डे परेडसम्बन्धी टाउनहल बैठकले आचार्यलाई आर्थिक संयोजकको जिम्मेवारी दिएको थियो। जिम्मेवारीलाई  स्वीकार गर्दै दिनरात मेहनतसाथ करिब ३६ हजार अमेरिकी डलर संकलन गरेका थिए। यो आर्थिक योगदानले कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय भूमिका खेलेको आयोजकको भनाइ छ।

गत जुन १, २०२५, आइतबार साँझ न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजित ‘एप्रिसिएसन नाइट’ कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसंघका सहायक स्थायी प्रतिनिधि कौशल किशोर रायको हातबाट आचार्यलाई औपचारिक रूपमा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिङ शेर्पा र एनआरएनए एनसीसी अमेरिका, न्यूयोर्क च्याप्टरको सहकार्य रहेको थियो।

आचार्य नेपाल डे परेडका आर्थिक संयोजक मात्र होइनन्, उनी लायन्स क्लब अफ क्विन्स बुद्ध, न्युयोर्कका संस्थापक अध्यक्ष र जमैका नेपाली समाजका वर्तमान अध्यक्ष पनि हुन्। विगत दुई दशकदेखि सामाजिक सेवामा समर्पित आचार्यले न्युयोर्कस्थित नेपाली समुदायको उत्थानका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।