३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

क्विन्सकाे एक विद्यालयमा विद्यार्थी अध्यागमन जाँचपछि ICE द्वारा पक्राउ

क्विन्सकाे एक विद्यालयमा विद्यार्थी अध्यागमन जाँचपछि ICE द्वारा पक्राउ

न्यूयोर्क- क्विन्सस्थित ग्रोवर क्लिभल्यान्ड हाई स्कुलका एक कक्षा ११ का विद्यार्थीलाई नियमित अध्यागमन (इमिग्रेशन) अपोइन्टमेन्टमा उपस्थित भएसँगै अमेरिका अध्यागमन तथा भन्सार प्रवर्तन विभागले पक्राउ गरेको छ।

राज्य सिनेटर माइक गेलनारिसले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै घटनाप्रति आक्रोश प्रकट गर्दै विद्यार्थीको रिहाइको माग गरेका छन्। “न्यायालय परिसरमै नाबालकलाई पक्रेर परिवारबाट अलग गर्नु अमानवीय हो,” उनले लेखे, “म विद्यालयसँगै बसेर विद्यार्थीको तत्काल रिहाइको माग गर्दछु।”

विद्यार्थीलाई बुधबार परिवारसँगै अध्यागमनको नियमित चेकइनमा उपस्थित भएका बेला छुट्टाछुट्टै कोठामा लगिएको र त्यसपछि केवल विद्यार्थीलाई मात्र हिरासतमा लिइएको बताइएको छ।

“कल्पना गर्नुहोस्, एक परिवार जसले नाबालक छोरालाई कहाँ लगे थाहा छैन, न जानकारी छ, न भेट्न पाएको छ,” सिनेटर गेलनारिसले भने, “विद्यार्थी दक्षिण अमेरिकाबाट आएको हो भन्ने जानकारी छ, तर परिवार अहिले डरसित विवरण सार्वजनिक गर्न चाहँदैन।”

विद्यालय प्रशासनमार्फत आफूले घटनाबारे जानकारी पाएको उनले बताए। ICE ले विद्यार्थीको पहिचान खुलाएको छैन।

यो घटना मे महिनामा घटेको अर्को यस्तै घटनासँग मिल्दोजुल्दो छ, जहाँ वेनेजुएलाबाट आएका एक २० वर्षीय विद्यार्थीलाई म्यानहट्टनको अदालतमा उपस्थिति दिएपछि ICE ले पक्रेको थियो। त्यो विद्यार्थी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि ICE द्वारा पक्राउ पर्ने पहिलो सार्वजनिक विद्यालय विद्यार्थी थिए।

पक्राउ परेका २० वर्षीय विद्यार्थीको कुनै आपराधिक रेकर्ड नभएको जनाइएको छ। उनका वकिलले बताएअनुसार, उनी पूर्व राष्ट्रपति जो बाइडनको पालामा लागू भएको कानुनी प्रक्रियामार्फत अमेरिका प्रवेश गरेका थिए। शहर प्रशासनले अदालतमा दाबी गर्दै भनेको छ कि विद्यार्थीलाई कारणबिनै थुनामा राखिएको र उनको due process (न्यायिक प्रक्रिया) को उल्लंघन भएको छ।

गृह सुरक्षा विभागका अनुसार, विद्यार्थीलाई expedited removal proceedingsअन्तर्गत राखिएको छ। NBC न्यूजका अनुसार, उनी हाल पेन्सिल्भेनियाको एक प्रक्रियागत केन्द्रमा छन्।

सिनेटर गेलनारिसले भने, “संघीय सरकारले अहिले कानुनसम्मत रूपमा अमेरिका आएका व्यक्तिहरूलाई पनि कानुनी बचाउको अवसर नदिई जबर्जस्ती पक्राउ गर्न थालेको छ, जुन खतरनाक संकेत हो।”

क्विन्सका विद्यार्थीको विषयमा ICE न्यूयोर्क फिल्ड अफिसबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।

यस घटनाले न्यूयोर्क सहरमा आप्रवासी विद्यार्थीहरूमाथिको सुरक्षा, कानुनी अधिकार र संघीय नीति कार्यान्वयनको प्रभावबारे गम्भीर बहस सिर्जना गरेको छ।