मनासास पार्कमा चार नेपालीको हत्या : दुई बालबालिका र दुई वयस्क मृत फेला
- २४ जेष्ठ २०८२
- १ मिनेटको पढाई
भर्जिनिया — मनासास पार्कस्थित एक घरमा बिहीबार राति दुःखद घटनामा दुई साना बालबालिका र दुई वयस्क मृत फेला परेका छन्। प्रहरीका अनुसार यो घटना सम्भावित हत्या या आत्महत्या हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
मृतकहरूमा २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ छन्। प्रहरीले बालबालिकाका नाम सार्वजनिक गरेको छैन।
प्रहरीलाई राति १०:४० बजे ९४०० ब्लक लाने लेनस्थित घरमा जाँच गर्न बोलाइएको थियो। घरधनीले तल्लो तल्लाको भाडामा बसेको परिवारसँग सम्पर्क हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
घटनास्थलमा पुगेका प्रहरीलाई चारैजना व्यक्तिहरू गोली लागेकाे अवस्थामा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरेको जनाएको छ।
“हालसम्मको अनुसन्धानमा यो हत्या हुन सक्ने देखिएको छ,” मनासास पार्क प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ। यद्यपि को शूटर थिए भन्ने विषयमा प्रहरीले हालसम्म कुनै ठोस विवरण सार्वजनिक गरेको छैन।
छिमेकीहरूले मृतक परिवार करिब छ महिनाअघि नेपालबाट आएर बसोबास गर्न थालेको बताएका छन्। उनीहरू सधैंभरी भद्र, सहयोगी र मिष्ठ भाषी परिवार भएको बताइएको छ। एक छिमेकीले आफ्नी ८ वर्षीया छोरी मृत बालिकासँग हरेक दिन खेल्ने गरेको बताउँदै गहिरो दुःख व्यक्त गरे।
चारै जनाको शवलाई म्यानाससस्थित मेडिकल परीक्षक कार्यालयमा पोस्टमार्टमको लागि पठाइएको छ। घटनाको कारण र शूटर को थिए भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।