कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते
- २५ जेष्ठ २०८२
- १ मिनेटको पढाई
बोगोटा — दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबे टर्बेमाथि गोली प्रहार भएको छ । राजधानी बोगोटामा चुनावी कार्यक्रममा सम्बोधन गरिरहेका बेला ३९ वर्षीय टर्बेमाथि एक व्यक्तिले गोली चलाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार टर्बेमाथि ३ वटा गोली हानिएको थियो, त्यसमध्ये २ वटा गोली उनको टाउकोमा लागेको छ । परिवारले आईसीयूमा राखेर टर्बेको उपचार भइरहेको जानकारी दिँदै सबैलाई उनको स्वास्थ्यलाभको प्रार्थना गर्न आग्रह गरेको छ ।
स्थानीय मिडियाहरूले घटनास्थलबाट १५ वर्षीय किशोरलाई पक्राउ गरिएको जनाएका छन् । टर्बेको पार्टी सेन्ट्रो डेमोक्रेटिकोले घटनाको निन्दा गर्दै यो आक्रमण नेता, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताका लागि खतरा भएको बताएको छ ।
त्यस्तै कोलम्बिया सरकारले समेत घटनाको कडा निन्दा गर्दै उक्त आक्रमण केवल एक व्यक्तिमाथि मात्र नभई लोकतन्त्रमाथिकै आक्रमण भएको जनाएको छ । कोलम्बियामा २०२६ को मे महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । सिनेटरसमेत हरेका टर्बेलाई राष्ट्रपति पदको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
पत्रकारसमेत रहेकी उनकी आमा डायना टर्बेलाई सन् १९९० मा लागूऔषध माफिया पाब्लो एस्कोबारको मातहतमा चल्ने एउटा भूमिगत समूहले अपहरण गरेको थियो । सन् १९९१ मा ‘रेस्क्यु अपरेसन’ का क्रममा उनको मृत्यु भएको थियो । कोलम्बिया दशकौंदेखि वामपन्थी विद्रोही, दक्षिणपन्थी अर्धसैनिक बलसँग आबद्ध आपराधिक समूह र सरकारबीचको द्वन्द्वमा अल्झिइरहेको छ ।