३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा गोलीकाण्ड, कम्तीमा १० जनाको मृत्यु

अष्ट्रिया- अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको भीषण गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

ग्राज प्रहरीका अनुसार, पश्चिमोत्तर ग्राजमा रहेको ‘बोर्ग ड्रेयरशुट्सेनगासे’ माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु हुनेहरूमा गोलीकाण्ड गराउने व्यक्तिसमेत रहेका छन्। प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मा दिएको जानकारीअनुसार घटनामा संलग्न भनिएको व्यक्ति पनि मृत फेला परेका छन् र अनुसन्धानका क्रममा एक मात्रै आक्रमणकारी भएको अनुमान गरिएको छ।

ग्राजकी मेयर एल्के काहरले अष्ट्रियन प्रेस एजेन्सीलाई दिएको जानकारीअनुसार मृतकमध्ये कम्तीमा एक जना वयस्क पनि रहेका छन्।

अस्ट्रियाका चान्सलर क्रिस्टियन स्टोकरले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “ग्राजको विद्यालयमा भएको गोलीकाण्ड राष्ट्रिय विपत्ति हो, जसले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। मेरो समवेदना ती परिवारहरू र आमाबाबुसँग छ, जसले आफ्नो सन्तान गुमाए।”

घटनापछि सुरक्षाकर्मी र आपतकालीन सेवाका टोलीसहित हेलिकप्टर परिचालन गरिएको थियो। केहीबेरपछि प्रहरीले घटनास्थलमा थप खतरा नरहेको जानकारी दिएको छ। प्रहरी प्रवक्ता फ्रिट्ज ग्रुन्डनिगले अष्ट्रियन सार्वजनिक प्रसारक ओआरएफलाई बताएका अनुसार गोली चलेको आवाज आएपछि विद्यालय खाली गराइएको थियो।

हालसम्म घाइतेहरूको यकिन संख्या पुष्टि नभए पनि अष्ट्रियन पत्रिका ‘क्रोनेन साइटुंग’ले कम्तीमा २८ जना विद्यार्थी र शिक्षक घाइते भएको उल्लेख गरेको छ। उनीहरूलाई प्रारम्भिक उपचारका लागि नजिकैको हेल्मुट लिस्ट हल लगिएको थियो, त्यसपछि अस्पताल पठाइएको बताइएको छ।

झन्डै ३ लाख जनसंख्या रहेको ग्राज सहर अमेरिकाका प्रमुख सहरहरूभन्दा सानो भए पनि यस प्रकारको हिंसात्मक घटना दुर्लभ मानिन्छ। विद्यार्थीका अभिभावकका लागि एएसकेओ फुटबल मैदानमा भेटघाट केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले नागरिकहरूलाई घटनास्थल वरपर नजान आग्रह गर्दै आपतकालीन सेवाको निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ। साथै, घटनासम्बन्धी जानकारी दिन सकिने विशेष प्लेटफर्म पनि सञ्चालन गरिएको जानकारी दिइएको छ।

अस्ट्रियाको गृहमन्त्रालयले अहिलेसम्म यसबारे प्रतिक्रिया दिएको छैन। प्रहरीका अनुसार घटनाबारे विस्तृत जानकारी दिन मंगलबार नै पत्रकार सम्मेलनको आयोजना गरिएको छ। चान्सलर स्टोकर तथा सरकारका अन्य प्रतिनिधिहरू ग्राजतर्फ प्रस्थान गरिसकेको अष्ट्रियन सञ्चारमाध्यमहरूले जनाएका छन्।

अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलनले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “यो पीडा शब्दमा व्यक्त गर्न सकिन्न। पीडितका आमाबुबा, हजुरबुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा साथीहरूका लागि अहिले सान्त्वना दिने कुनै शब्द छैन। यी किशोरकिशोरीहरूको सम्पूर्ण जीवन अगाडि थियो, तर यो कहालीलाग्दो घटनाले तिनको जीवन समाप्त गरिदियो।”