न्युयोर्क- न्यू जर्सीमा मंगलबार गभर्नर पदका लागि डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीको प्राथमिक निर्वाचन हुँदैछ। यो निर्वाचनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र कार्यक्रमप्रति जनताको धारणा कस्तो छ भन्ने संकेत दिन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। त्यस्तै डेमोक्र्याट मतदाताले आफ्ना नेताहरूबाट ट्रम्पको विरोध कसरी गर्नुपर्छ भन्नेबारे कस्तो अपेक्षा राख्छन् भन्ने सन्देश पनि यस निर्वाचनबाट झल्किन सक्छ।
न्यू जर्सी र भर्जिनिया—दुवै राज्यमा यस वर्ष मात्र गभर्नरको चुनाव हुँदैछ। न्यू जर्सीका वर्तमान दुई कार्यकाल पुगिसकेका डेमोक्र्याट गभर्नर फिल मर्फी पुनः चुनाव लड्न अयोग्य भएपछि यसपटकको प्रतिस्पर्धा निकै चाखलाग्दो बनेको छ। सन् २०२१ मा पुनःनिर्वाचित भई ४० वर्षपछि दोस्रो कार्यकाल जित्ने पहिलो डेमोक्र्याट भएका मर्फीले भने हालसम्म कुनै पनि उम्मेदवारलाई समर्थन जनाएका छैनन्।
डेमोक्र्याट पक्षमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा
डेमोक्र्याट पार्टीको तर्फबाट ६ जना अनुभवी नेताहरू उम्मेदवार छन्। तीमध्ये अमेरिकी सांसद जोश गोठहाइमर, मिकी शेरिल, जर्सी सिटीका मेयर स्टिभन फुलप, न्युर्याकका मेयर रास बाराका, शिक्षक संगठन अध्यक्ष तथा पूर्व मेयर सीन स्पिलर र पूर्व राज्य सिनेट सभापति स्टिभ स्वीनी रहेका छन्।
चुनावी चन्दा संकलनमा गोठहाइमरको अग्रता देखिएको छ, उनले ९.१ मिलियन डलर उठाएका छन् भने शेरिल र फुलपले करिब ८.९ मिलियन डलर उठाएका छन्। सर्वेक्षणमा शेरिल अग्रस्थानमा देखिएकी छन् भने गोठहाइमर, फुलप र बाराका पछ्याइरहेका छन्।
आप्रवासनको विषय पनि मुख्य एजेन्डा बनेको छ। गत मे महिनामा मेयर बाराका संघीय आव्रजन हिरासत केन्द्र बाहिरको प्रदर्शनमा पक्राउ परेपछि उनीमाथि लगाइएको अभियोग हालै खारेज गरिएको थियो।
रिपब्लिकन पक्षमा ट्रम्पको समर्थनसहितको प्रतिस्पर्धा
रिपब्लिकन पक्षमा पूर्व राज्य विधायक ज्याक सियाट्टारेली तेस्रो पटक गभर्नर पदको लागि उम्मेदवारी दिँदै छन्। उनले २०२१ मा गभर्नर मर्फीसँगको प्रतिस्पर्धामा करिब ३ प्रतिशत मात्र मतान्तरले पराजय भोगेका थिए। यसअघि उनले २०१७ मा पनि उम्मेदवारी दिएका थिए तर नामांकन जित्न असफल भएका थिए।
अन्य रिपब्लिकन प्रतिस्पर्धीहरूमा राज्य सिनेट सदस्य जोन ब्रामनिक, पूर्व मेयर मारियो क्रान्जाक, रेडियो होस्ट बिल स्पाडिया र ठेकेदार जस्टिन बारबेरा छन्। ब्रामनिकबाहेक सबै उम्मेदवार ट्रम्पको समर्थनमा खुलेका छन्। सियाट्टारेलीले आफैंलाई ट्रम्प प्रशासनको ‘सरकारी कार्यक्षमता विभाग’को राज्य संस्करण ल्याउने घोषणा गरेका छन्। उनले आप्रवासनसम्बन्धी संघीय कानुन कार्यान्वयनमा सहकार्य नगर्ने राज्य नीति ‘इमिग्रेन्ट ट्रस्ट डाइरेक्टिभ’ खारेज गर्ने, एकपलास्टिक झोलामा लगाइएको प्रतिबन्ध हटाउने, र नागरिकता अधिकारसम्बन्धी ट्रम्पविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन्।
मतदानको अवस्था
मतदान मंगलबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म चल्नेछ। तर यो एक दिन मात्रको प्रक्रिया होइन। जुन ३ देखि ८ सम्म पूर्वमतदान सम्पन्न भइसकेको छ र मतदाता चैतदेखि नै पोस्टमार्फत मतदान गरिरहेका छन्।
राजनीतिक सन्दर्भ र संभावित परिणाम
न्यू जर्सीमा उच्च सम्पत्ति कर र बढ्दो जीवनयापन खर्च प्रमुख मुद्दा बनेका छन्, तर राष्ट्रिय राजनीति र ट्रम्पको प्रभाव पनि महत्त्वपूर्ण बन्दै गएको छ। विशेषज्ञ बेन ड्वार्किनका अनुसार, “ट्रम्प फेरि ह्वाइट हाउस फर्किएपछि यो पहिलो प्रमुख चुनाव हो, त्यसैले जनधारणा निर्माणको दृष्टिकोणले यसको ठूलो असर हुनेछ।”
यदि डेमोक्र्याटहरूले गभर्नरको पद गुमाए भने पार्टीको भविष्य गम्भीर संकटमा पर्नसक्ने देखिन्छ। अर्कोतर्फ, रिपब्लिकनहरूले जित निकालेमा ट्रम्पका लागि यो एक ठूलो राजनीतिक विजय हुनेछ।
अन्य चुनावहरू
यस पटक राज्य संसदको तल्लो सदन *जनरल एसेम्बली*का ८० सिटमध्ये २५ जिल्लामा प्रतिस्पर्धात्मक चुनाव हुनेछन्। प्रत्येक जिल्लामा दुई जनालाई छानिनेछ। राज्य सिनेटको चुनाव २०२७ सम्म हुने छैन। तर बर्गन र पासाइक जिल्लामा विशेष चुनाव हुँदैछ, जहाँ डेमोक्र्याटहरूको बहुमत रहेको छ।
यस चुनावको नतिजाले न्यू जर्सीको आगामी राजनीतिक दिशा मात्र होइन, ट्रम्पको प्रभावबारे समेत सन्देश दिन सक्नेछ।