न्यूयोर्क — अमेरिकाभर भइरहेका आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (ICE) का छापामारीहरू विरुद्ध न्यूयोर्क सहरको फोली स्क्वायरमा मंगलबार साँझ पुनः विरोध प्रदर्शन गरिएको छ।
यस प्रदर्शनमा कम्तीमा १,५०० जना प्रदर्शनकारी सहभागी भएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ। प्रदर्शन २६ फेडरल प्लाजा नजिकै सुरु भएको थियो, जुन क्षेत्रमा सबैभन्दा ठूलो संघीय भवन अवस्थित छ। राति ९ बजेसम्म प्रदर्शन जारी रहे पनि त्यसपछि भिड पातलो हुन थालेको प्रहरीको भनाइ छ।
प्रदर्शनकारीहरूले एलएमा भइरहेको आन्दोलनको समर्थन गर्दै ICE को गतिविधि रोक्न र निर्वासन अन्त्य गर्न माग गरेका छन्। उनीहरूले ट्रम्प प्रशासनको आप्रवासन नीति र छापा अभियानहरूलाई मानवअधिकारविरुद्धको कार्य भन्दै आलोचना गरेका छन्।
न्यूयोर्कका मेयर एरिक एडम्स ले भने, “न्यूयोर्क सधैं शान्तिपूर्ण प्रदर्शनको स्थल हुनेछ, तर हिंसा र अराजकता सह्य गरिने छैन।” उनले एलएमा देखिएको जस्तो उग्र प्रदर्शन न्यूयोर्कमा सह्य नहुने चेतावनी दिएका छन्।
पुलिस आयुक्त जेसिका टिश ले संघीय एजेन्सीसँग समन्वय भइरहेको जनाउँदै भनिन्, “NYPD ले जनसुरक्षा कायम गर्दै कानुनअनुसार प्रदर्शनलाई व्यवस्थापन गर्न जान्दछ।”
प्रहरीले यातायातमा अवरोध आउन सक्ने भन्दै फोली स्क्वायर आसपासका क्षेत्रबाट यात्रा गर्नेहरुलाई सचेत रहन अनुरोध गरेको छ। त्यहाँ भारी मात्रामा प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनकारीहरूले ICE ले अदालतमा नियमित उपस्थित भएका आप्रवासीहरूलाई पक्राउ गरी तत्काल हटाउने काम गरिरहेको आरोप लगाएका छन्। उनीहरूले NYPD ले संघीय आप्रवासन निकायसँग मिलेर नागरिक अधिकारको उल्लंघन गरिरहेको दाबी गरेका छन्। तर NYPD ले आपराधिक अनुसन्धानमा मात्र संघीय एजेन्सीसँग सहकार्य हुने स्पष्ट पारेको छ।
ICE विरोधी प्रदर्शनहरु एलएमा सबैभन्दा तीव्र रूपमा देखिएको छ। गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौं नेसनल गार्ड का सैनिकहरूलाई एलएमा संघीय भवनहरूको सुरक्षा गर्न खटाएका थिए। थप २,००० सैनिक खटाइने योजना छ भने ७०० मरीन सैनिक तयारी अवस्थामा राखिएको छ।
न्यूयोर्कमा हालसम्मका प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण रहँदै आएका छन्। शनिबार फेडरल प्लाजामा केही प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो। सो दिन ९ जना प्रदर्शनकारी पक्राउ परेका थिए भने सोमबारको प्रदर्शनमा पनि त्यतिकै संख्यामा पक्राउ परेका छन्।
न्यूयोर्क इमिग्रेशन कोअलिशन का मारियो ब्रुज्जोनले भने, “न्यूयोर्कमा ३,५०,००० भन्दा बढी आप्रवासीहरू यस्ता प्रतिबन्धित देशहरूबाट आएका छन्,” भन्दै नयाँ ट्राभल ब्यानलाई सन् २०१७ को ट्रम्प प्रशासनको आप्रवासन नीति निरन्तरता भएको बताए।
प्रदर्शनमा सहभागीहरूले भावी दिनमा अझ कडा नीति लागू हुने सम्भावना औंल्याएका छन्। अभियन्ताहरूले नागरिक अधिकारको संरक्षण गर्न सबैलाई सचेत र एकजुट हुन आह्वान गरेका छन्।