न्यूयोर्क— अमेरिकाभर फैलिँदै गएको आइस (ICE) विरुद्धको प्रदर्शन र लस एञ्जलसमा भड्किएको दङ्गाका बीच न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले सोमबार एक पत्रकार सम्मेलनमा कडा चेतावनी दिँदै “हिंसा सह्य नहुने” बताएका छन्।
“म विश्वास गर्छु, भयमा होइन विश्वासमा आधारित प्रणाली निर्माण गर्नुपर्छ। तर दुई गलतले एउटा सहि हुँदैन,” मेयर एडम्सले भने। “न्यूयोर्क सिटी सँधै शान्तिपूर्ण प्रदर्शनको थलो हुनेछ, तर हामी हिंसा र अराजकता कहिल्यै सहन सक्दैनौं।”
लस एञ्जलसमा पछिल्ला दिनहरूमा भड्किएको आक्रोश र तोडफोडका घटना न्यूयोर्कमा पनि हुन सक्ने सम्भावनाका बीच उनले समयमै चेतावनी दिएका हुन्।
न्यूयोर्क प्रहरी विभागकी आयुक्त जेसिका टिशले समेत सुरक्षा बलहरू “पूरा तयारीमा” रहेको बताउँदै भनिन्, “यदि न्यूयोर्कले क्यालिफोर्नियामा देखिएकोजस्तो अराजकता भोग्नुपर्यो भने, हामीसँग त्यसको सामना गर्न आवश्यक सम्पूर्ण स्रोतहरू तयारी अवस्थामा छन्। हामी कानुनसम्मत रूपमा सार्वजनिक शान्ति कायम गर्नेछौं।”
टिशले स्पष्ट पारिन् कि एनवाइपीडीले नागरिक आप्रवासन नियन्त्रणमा संलग्न हुँदैन, तर हिंसा, सम्पत्ति क्षति र बाटो अवरोध गर्ने शैलीका आन्दोलनहरूमा “शून्य सहिष्णुता” अपनाइने छ।
-आइस कार्यालय र रिकर्स आइल्याण्ड विवाद
मेयर एडम्स आफैं ट्रम्प प्रशासनसँग केही हदसम्म सहयोगी भूमिकामा देखिएका छन्। उनले रिकर्स आइल्याण्डमा आइसको कार्यालय खोल्ने प्रस्तावलाई समर्थन गरेका छन्, जसविरुद्ध सिटी काउन्सिलले उनलाई अदालतमा घिसेका छन्।
पूर्व ‘बोर्डर जार’ टम होम्यानसँग फेब्रुअरीमा दिएको संयुक्त अन्तर्वार्तामा एडम्सले भनेका थिए, “रिकर्स आइल्याण्डमा आइस फिर्ता आएपछि सडकमै हिंसा फैलाउने व्यक्तिहरूलाई नियन्त्रण गर्न र आपराधिक संगठनहरूसम्बन्धी गुप्त सूचना संकलन गर्न ठूलो फाइदा मिल्नेछ।”
उनले वामपन्थीहरूको आलोचना गर्दै थपे, “आइसले विद्यालय वा चर्चमा घुसपैठ गर्छ भन्ने कुरा भ्रम मात्र हो। बच्चाहरूलाई समात्न आइस लागिरहेको छैन। यो सबै हल्ला बन्द गर्नुपर्छ।”
-लस एञ्जलसमा ट्रम्पले पठाए सेना, १०० बढी पक्राउ
यसैबीच, लस एञ्जलसमा आइस विरोधी प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौं राष्ट्रिय सुरक्षाकर्मी तैनाथ गरेका छन्। उनका अनुसार, “यदि मैले सेना नपठाएको भए, लस एञ्जलस आज खरानी भएको हुनेथियो।” उनले Truth Social मा लेखेका छन्।
ट्रम्पले स्थानीय गभर्नर ग्याभिन न्युसम र मेयर करेन बासलाई असक्षम ठहर गर्दै राज्य र सहरको अनुमतिप्रणालीमा ढिलासुस्ती भएको आरोपसमेत लगाएका छन्।
यता, गभर्नर न्युसमले भने ट्रम्पकै ‘अराजकता’ले हिंसालाई जन्म दिएको बताउँदै चेतावनी दिएका छन्, “हिंसात्मक कार्यमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याइनेछ।”
-प्रदर्शन र दमनको सन्दर्भ
आइसले हालै प्रत्येक दिन ३,००० अवैध आप्रवासीहरू पक्राउ गर्ने लक्ष्य राखेको बताइएको छ। तीमध्ये धेरैजसोमाथि आपराधिक मुद्दा वा दोषसिद्धि समेत रहेका छन्। यसैकारण देशभर प्रदर्शनहरू चर्किरहेका छन्।
न्यूयोर्कमा हालसम्मका प्रदर्शनहरू प्रायः शान्तिपूर्ण रहे पनि, मेयर एडम्स र प्रहरी प्रशासनले सम्भावित अराजकताविरुद्ध स्पष्ट सन्देश दिएका छन्— “शहरमा शान्तिपूर्ण विरोधलाई समर्थन गरिएला, तर हिंसा भने सह्य हुने छैन।”