३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

न्यूयोर्कमा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रदर्शनको तयारी तीव्र, शनिबार देशव्यापी आन्दोलन हुने

न्यूयोर्कमा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रदर्शनको तयारी तीव्र, शनिबार देशव्यापी आन्दोलन हुने

न्यूयोर्क — अमेरिकाभर ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध देशव्यापी रूपमा आयोजना गरिने ‘नो किङ्स’ दिवसको आन्दोलनलाई मध्यनजर गर्दै न्यूयोर्क सिटीका अधिकारीहरू शुक्रबार सुरक्षा योजना सार्वजनिक गर्ने तयारीमा छन्।

नो किङ्स अभियानका आयोजकहरूका अनुसार १,५०० भन्दा बढी सहरहरूमा करिब २,००० कार्यक्रम तय गरिएको छ। न्यूयोर्क र लस एञ्जलस आन्दोलनको केन्द्रका रूपमा चिनिएका छन्, जहाँ सर्वाधिक प्रदर्शनहरू अपेक्षित छन्।

यो प्रदर्शन राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मदिन र अमेरिकन आर्मीको २५०औं वार्षिकोत्सवको अवसरमा हुने सैन्य परेडसँगै मिलाएर आयोजना गरिएको हो। आयोजकहरूका अनुसार ट्रम्पको “राजाको जस्तो” व्यवहार र प्रदर्शनमुखी सत्ता शैलीविरुद्ध यो सशक्त सन्देश हुनेछ।

“अमेरिकामा हामी स्वघोषित राजाहरूको समर्थन गर्दैनौं,” आयोजक समूहको वेबसाइटमा उल्लेख गरिएको छ।

-न्यूयोर्क र न्यु जर्सीमा तय गरिएका प्रमुख प्रदर्शनहरू:

– न्यूयोर्क सिटी:

– नो किङ्स मार्च, ब्रायन्ट पार्क (5th Ave र 41st St) — दिउँसो २ बजेदेखि ४ बजेसम्म
– ‘न्यु अर्लिन्स सेकन्ड लाइन’ स्टाइलको ¥याली (7 E 38th St) — दिउँसो २ बजेदेखि ५ बजेसम्म
– कोलम्बिया युनिभर्सिटी प्रोटेस्ट (116th St र ब्रडवे) — दिउँसो १ देखि ४ बजेसम्म
– नो किङ्स क्विन्स: (10628 Queens Blvd, Forest Hills) — १२:३० देखि २ बजेसम्म
– नो किङ्स ब्रुकलिन, योनकर्स, पोर्ट वाशिङटनमा पनि ¥याली

न्यु जर्सी:

– वीहकन: Hamilton Park (Blvd East) — दिउँसो १ देखि ३ बजेसम्म
– जर्सी सिटी: Grove Street Path Station Plaza — बिहान ११ देखि १२:३०
– न्यूर्क: Lincoln Statue (12 Springfield Ave) — बिहान ११ देखि दिउँसो १
– पारामस: Route 4 — बिहान १० देखि साँझ ६

प्रदर्शनको मूल एजेन्डा – आइस (ICE) विरुद्धको आक्रोश

हालैका हप्तामा फेडरल अधिकारीहरूले अदालतमा हाजिर भएका आप्रवासीहरूलाई पक्राउ गर्दै छिटो निष्कासन प्रक्रिया अघि बढाएको रिपोर्टहरू आएका छन्। कतिपय अवस्थामा असाइलमका मुद्दा नै खारेज गरेर सोझै देशनिकाला प्रक्रिया सुरु गरिएको बताइन्छ।

प्रदर्शनकारीहरू भन्छन्, न्यूयोर्क प्रहरी (NYPD)ले आइससँग अवैधानिक रूपमा सहकार्य गरिरहेको छ, जुन स्वीकार्य छैन। यद्यपि, NYPD को भनाइ अनुसार उनीहरूले आपराधिक अनुसन्धानमा मात्र संघीय निकायसँग समन्वय गर्छन्।

न्यूयोर्कमा पछिल्ला केही दिनदेखि प्रदर्शन जारी छन्। दर्जनौं प्रदर्शनकारीहरू अवरोध र अव्यवस्थित आचरणको आरोपमा पक्राउ परेका छन्, तर अधिकांशलाई सिर्फ समन्स दिइएको छ।

– सुरक्षा सतर्कता उच्चस्तरमा

NYPD ले बताएको छ कि हालसम्म अधिकांश प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। तथापि, केही स्थानमा तनावपूर्ण स्थिति बनेको थियो। शहरभर सुरक्षा सतर्कता बढाइएको छ, विशेष गरी शनिबार हुने प्रमुख ¥यालीहरूमा।

ट्रम्पविरुद्धको यो आन्दोलन सत्ताको प्रदर्शन र आप्रवासन नीतिमा असहमति जनाउनेहरूको शक्तिशाली र एकीकृत आवाज बन्ने अपेक्षा गरिएको छ।
शनिबारको दिन, “राजा होइन, जनताको शासन” भन्ने सन्देश देशभर गुन्जिनेछ।