३१ जेष्ठ २०८२, शनिबार
14 June 2025, Saturday

वाशिङ्टन डीसीमा यूएस मार्शलको गोली प्रहार, एक व्यक्ति गम्भीर घाइते

वाशिङ्टन डीसीमा यूएस मार्शलको गोली प्रहार, एक व्यक्ति गम्भीर घाइते

वाशिङ्टन- वाशिङ्टन डीसीको कन्वेन्सन सेन्टर नजिकै बिहीबार बिहान एक यूएस मार्शलले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार मार्शलले “खतरा महसुस गरेपछि” गोली प्रहार गरेका हुन्।

घटना बिहान करिब १० बजे ७औं र एल स्ट्रिट, नर्थवेस्ट स्थित वाल्टर ई. वाशिङ्टन कन्वेन्सन सेन्टर बाहिर भएको हो।

यूएस मार्शल रोबर्ट “टोनी” डिक्सनले पत्रकार सम्मेलनमा जानकारी दिँदै, एक पुरुषप्रति खतरा महसुस भएपछि डिपुटी मार्शलले गोली चलाएको बताए। गोली लागेका व्यक्तिको शल्यक्रिया भइरहेको र अवस्था गम्भीर रहेको डाक्टरहरूले बताएका छन्। पीडितको उमेर खुलाइएको छैन।

गोली चलाउने डिपुटी भने सकुशल रहेको जनाइएको छ।

घटनास्थलमा रहेको शेभरोलेट टाहो गाडीको अगाडिको सिसामा पाँचवटा गोलीका प्वाल देखिएको थियो। त्यहीँ नजिकै रहेका एक व्यक्तिले भने, “गोलीले मेरो गाडीको छानो छुन पुग्यो, म झस्किएको छु,” भन्दै छानामा डेन्ट लागेको देखाए।

डीसी प्रहरी प्रमुख पामेला स्मिथले भने, घटनाको अनुसन्धान जारी रहेको बताउँदै हालसम्म गोली प्रहार गरिएका व्यक्तिसँग हतियार थियो वा थिएन भन्ने पुष्टि नभएको जानकारी दिइन्।

घटनापछि कन्वेन्सन सेन्टर वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो र केही घण्टासम्म सडक बन्द गरिएको थियो।