न्यूयोर्क— आगामी २०२५ को प्राइमरी चुनावका लागि न्यूयोर्क सिटीमा प्रारम्भिक मतदान शनिबारबाट सुरु भएको छ, र पहिलो दिनमै ३०,५५३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेसँगै चुनावमा जनचासो उच्च देखिएको छ।
न्यूयोर्क सिटी बोर्ड अफ इलेक्शनले शनिबार साँझ जारी गरेको तथ्यांक अनुसार ५ वरो (boroughs) मा यस्तो मतदाता सहभागिता देखिएको हो, जुन २०२१ को पहिलो दिनको प्रारम्भिक मतदानभन्दा झण्डै दोब्बर हो। त्यो बेला कुल १६,६८७ जनाले मात्र मतदान गरेका थिए।
– वरो अनुसार मतदान विवरण:
म्यानह्याटन: १०,००३
ब्रङ्क्स: २,६९८
ब्रुकलिन: १०,२४४
क्विन्स: ६,४७०
स्टेटन आइल्याण्ड: १,१३८
– फराकिलो प्रतिस्पर्धा, तर केही मात्र बलिया उम्मेदवार
यस पटक ११ जना डेमोक्र्याट उम्मेदवारहरू चुनावी मैदानमा छन्। यद्यपि प्रारम्भिक सर्वेक्षण अनुसार प्रमुख प्रतिस्पर्धा केही सीमित उम्मेदवारहरूबीच मात्र हुने संकेत देखिन्छ।
यसको तुलना गर्दा, २०२१ मा एरिक एडम्स, क्याथरिन गार्सिया, माया वाइली, एन्ड्र्यु याङ, स्कट स्ट्रिङर जस्ता नाम चलेका उम्मेदवारहरूबीच प्रतिस्पर्धा थियो।
मतदानमा देखिएको यो चासो पहिलो बहस (डिबेट) को ४७% बढी दर्शक संख्याबाट पनि संकेतित भएको हो। जुन ४ मा NBC न्यूयोर्क/टेलेमुन्डो ४७ र पोलिटिकोले संयुक्त रूपमा आयोजना गरेको बहस निकै चर्चित बनेको थियो।
न्यूयोर्क सिटीका ८० लाख जनसंख्यामध्ये ५० लाखभन्दा कम मतदाता दर्ता भएका छन्। २०२१ मा मात्र १० लाखले प्राइमरी र ११ लाखले मेयर चुनावमा मतदान गरेका थिए।
– एरिक एडम्स स्वतन्त्र उम्मेदवारका रूपमा
हालका मेयर एरिक एडम्स यस पटक डेमोक्र्याटिक प्राइमरीमा सहभागी नभइ स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिइरहेका छन्। उनमाथि एक विदेशी देशबाट घुस लिएको आरोपमा अमेरिकी न्याय विभाग (DOJ) द्वारा छानबिन चलिरहेको छ।
– प्रारम्भिक मतदान कहिलेसम्म?
प्रारम्भिक मतदान जुन १४ देखि जुन २२ सम्म सञ्चालन हुनेछ।
प्राइमरी चुनावको मुख्य दिन भने जुन २४ मा हुनेछ।
ध्यान दिनु पर्ने कुरा, प्रारम्भिक मतदान केन्द्रहरू प्राइमरी दिनका मतदान केन्द्रभन्दा फरक हुन सक्छन्।
न्यूयोर्क सिटीमा प्रारम्भिक मतदानको पहिलो दिनमै देखिएको उच्च सहभागिता आगामी मेयर चुनावमा जनचासो बढिरहेको संकेत हो। जसरी उम्मेदवारहरूको संख्या बढेको छ, त्यसरी नै नागरिकको लोकतान्त्रिक सहभागिता पनि उत्साहजनक देखिन्छ। अबको प्रश्न हो — को भिड्नेछन् एरिक एडम्ससँग नोभेम्बरमा?