२ असार २०८२, सोमवार
16 June 2025, Monday

‘इमिग्रेन्ट सिटी’ लेखिएको टिसर्ट लगाएर एन्जेल सिटीको विरोध

‘इमिग्रेन्ट सिटी’ लेखिएको टिसर्ट लगाएर एन्जेल सिटीको विरोध

लस एञ्जलस – आप्रवासी र उनीहरूमाथि भइरहेको कारबाहीको विरोधमा अमेरिकी महिला फुटबल क्लब एन्जेल सिटी का खेलाडीहरूले विशेष सन्देशसहितको जर्सी लगाएर मैदान प्रवेश गरेका छन्।

शनिबार नेसनल विमेन्स सॉकर लिग (NWSL) अन्तर्गत नर्थ क्यारोलिना विरुद्धको खेलअघि एन्जेल सिटीका खेलाडीहरूले ‘Immigrant City Football Club’ लेखिएको टिसर्ट लगाएका थिए। टिसर्टको पछाडि ‘Los Angeles is for everyone / Los Angeles es para todos’ (लस एञ्जलस सबैका लागि हो) भन्ने सन्देश अंकित थियो।

क्लबले यस सन्देशसहित १० हजार टिसर्ट छपाई गरी BMO स्टेडियम प्रवेश गर्ने समर्थकहरूलाई वितरण गर्‍यो। क्लबका प्रबन्धक र प्रशिक्षक टोलीले पनि यस्तै टिसर्ट लगाएका थिए।

एन्जेल सिटीकी सामाजिक सञ्जाल समन्वयक याओजिउएटल मार्टिनेज ले भनिन्,

“लस एञ्जलस सधैं आप्रवासीहरूको शहर रहिआएको छ। ‘इमिग्रेन्ट सिटी एफसी’ भन्ने सन्देशले हाम्रो क्लब र हाम्रो समुदाय दुवैको पहिचान देखाउँछ।”
“हामी खेलाडी, कर्मचारी, प्रबन्धक – धेरैजसो आप्रवासी पृष्ठभूमिबाट आएका हौं। यो सन्देश हामी को हौं भन्ने साँचो चित्रण हो।”

खेलअघि गायिका र अभिनेत्री बेकी जी ले समर्थकहरूसामु क्लबको सन्देश पढिन्। त्यो कार्डमा लेखिएको थियो:

“यो शहरको बनावट आप्रवासीहरूले बनाएका छन्। फुटबल आप्रवासीबिनाको कल्पना गर्न सकिन्न। हाम्रो क्लब पनि उनीहरुबिनाको सम्भव थिएन।”

खेलमा एन्जेल सिटी २–१ ले पराजित भए पनि कप्तान एलि राइली ले भावुक रूपमा भनिन्:

“हामीले माया गर्ने यो खेल आप्रवासीहरूको कारण अमेरिकामा छ। क्लब, जुन मेरो पहिचानको अङ्ग बनेको छ, पनि उनीहरूमै आधारित छ।”

यसअघि NWSL प्लेयर एसोसिएसन र WNBA प्लेयर एसोसिएसन ले संयुक्त रूपमा ICE (इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट) द्वारा गरिएका कारबाहीहरू विरुद्ध संयुक्त वक्तव्य जारी गर्दै भनेका थिए:

“हामी सबै मानिसको सुरक्षाको, सम्मानको र अवसरको अधिकारको पक्षमा उभिन्छौं – उनीहरू जहाँबाट आएका हुन् वा जहाँ पुग्न चाहन्छन्। सहानुभूति देखाउनु कहिल्यै बहसको विषय हुनु हुँदैन।”

अर्कोतर्फ, MLS क्लब लस एञ्जलस एफसी का समर्थकहरूले पनि गत हप्ता ‘Abolish ICE’ लेखिएको ब्यानर मैदानमा प्रदर्शन गरेका थिए र खेलको समयमा मौन बस्दै विरोध जनाएका थिए।

यसै सन्दर्भमा, मेक्सिको र डोमिनिकन गणराज्यबीच LA मा भएको गोल्ड कपको खेल शान्तिपूर्ण ढंगले सम्पन्न भएको थियो। तर मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेइनबाउम ले अमेरिकी अधिकारीहरूलाई सोफाइ स्टेडियम नजिक आप्रवासीहरू विरुद्धको कडाइ नगर्न आग्रह गरेकी थिइन्। मेक्सिको टोलीले सुरक्षा कारणले अन्तिम समयमा होटल परिवर्तन गर्नुपरेको थियो।