४ असार २०८२, बुधबार
18 June 2025, Wednesday

डेनमार्कमा ‘अद्भुत’ भाइकिङ चिहान फेला

डेनमार्कमा ‘अद्भुत’ भाइकिङ चिहान फेला

न्युयोर्क- एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १०औँ शताब्दीको चिहान फेला परेको एक सङ्ग्रहालयले मङ्गलबार घोषणा गरेको छ । यो चिहान प्राचीन वस्तुहरूको ‘शानदार’ भण्डारले भरिएको छ ।

डेनमार्कको दोस्रो ठूलो सहर आर्हसबाट सात किलोमिटर उत्तरमा अवस्थित गाउँ लिस्बर्ज नजिकै निर्माण कार्यका क्रममा मोती, सिक्का, सिरेमिक र सुनको धागो भएको बक्स फेला परेपछि यो खोज आएको हो ।

पुरातत्वविद्हरूले १०औँ शताब्दीको उत्तरार्धमा प्रसिद्ध राजा हेराल्ड ब्लुटुथको शासनकालमा करिब ३० वटा चिहान भएको फेला पारेको आर्हसको मोस्गार्ड सङ्ग्रहालयले बताएको छ ।

सङ्ग्रहालयका पुरातत्त्वविद् म्याड्स रेभनका अनुसार चिहानहरू सम्भवतः भाइकिङ युगको कुलीन परिवारसँग जोडिएको छ । यो आठौँ र ११औँ शताब्दीको बीचमा चलेको थियो । यो फार्म सन् १९८० को दशकको अन्तमा चिहान स्थलबाट एक किलोमिटरभन्दा कममा फेला परेको थियो ।

“यो हाराल्ड ब्लुटुथको कुनै अर्ल वा भण्डारे हुनसक्छ”, रेभनले भने ।

रेभनका अनुसार आजको डेनमार्कमा इसाई धर्मको परिचय गराउने राजाले केही क्षेत्रहरू व्यवस्थापन गर्ने जिम्मा कुलीनहरूलाई दिएका थिए । अनुसन्धानकर्ताहरूले स्थलमा दाँत र हड्डीहरू जस्ता केही मानव अवशेषहरू पनि फेला पारेका छन् ।

“मानिसहरूले मूलतः उनीहरूका लागि महत्त्वपूर्ण कुराहरू चिहानमा लगे किनभने तिनीहरू यसलाई अर्को संसारमा हस्तान्तरण गर्न चाहन्थे”, पुरातत्त्वविद् रेभनले भने ।

वैज्ञानिकहरूले एक महत्वपूर्ण महिलाको भएको मानेको एउटा चिहानमा सजावटी वस्तुहरू र एक जोडी कैँची भएको बाकस थियो । रेभनका अनुसार यो ‘भव्य’ बाकस एक उल्लेखनीय खोज हो । यसअघि केही मात्र फेला परेका छन्, जसमा दक्षिणपूर्वी जर्मनीमा एउटा समावेश छ ।

“यो धेरै दुर्लभ छ, हामीलाई थाहा भएका केवल तीनवटा मात्र छन्”, उनले भने । लिस्बर्जमा उत्खनन यस हप्ता सम्पन्न हुनेछ । त्यसपछि विज्ञहरूले बरामद गरिएका वस्तुहरूको गहन विश्लेषण सुरु गर्नेछन् ।

विशेष गरी काठका वस्तुहरूले तिनीहरूलाई चिहान स्थलको सही मिति निर्धारण गर्न मद्दत गर्नेछ । एक शाही र व्यापारिक केन्द्रका रूपमा आर्हस भाइकिङ युगमा डेनमार्कका सबैभन्दा महत्त्वपूर्ण सहरहरू मध्ये एक थियो ।