२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

प्रेमीमाथि छुरा प्रहार: युवतीको आक्रमणबाट युवक घाइते

प्रेमीमाथि छुरा प्रहार:  युवतीको आक्रमणबाट युवक घाइते

सिरहा – सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् ।

छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।

प्रहरीका अनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन् । हामफाल्दा उनी पनि घाइते भएकी छन् ।

अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवती पनि सामान्य घाइते भएकी छन् ।

स्थानीयहरूका भनाइ अनुसार ती युवक–युवतीबीच पहिलेबाट नै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय उनीहरूबीच झगडा बढ्दै गएको बताइएको छ ।

हाल युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । घटनाको पछाडि के कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।