२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

जीवन विज्ञान अमेरिका शाखाद्वारा अमेरिका भरि आत्म-जागरणमूलक प्रशिक्षण कार्यक्रम सुरु

जीवन विज्ञान अमेरिका शाखाद्वारा अमेरिका भरि आत्म-जागरणमूलक प्रशिक्षण कार्यक्रम सुरु

लस एन्जलस— जीवन विज्ञान अमेरिका शाखाले आगामी जुन २४ देखि जुलाई २२ सम्म अमेरिका भरिका विभिन्न राज्यहरूमा एक महिने आत्म-जागरणमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मानसिक, शारीरिक र आध्यात्मिक सन्तुलनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमहरू क्यालिफोर्नियाको लस एन्जलस र भर्जिनिया राज्यमा सञ्चालन हुनेछन्।

लस एन्जलसमा जुन २४ देखि जुन ३० सम्म “ऐश्वर्य विज्ञान” कार्यक्रम आयोजना गरिनेछ भने, जुलाई ३ देखि जुलाई २२ सम्म भर्जिनियामा “चक्र विज्ञान”, “बोध विज्ञान” र “लय विज्ञान” कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

कार्यक्रमका विशेष आकर्षणका रूपमा श्रद्धेय गुरुद्वय रमेश नेपाल र भानु शर्मा अमेरिका पुगेर प्रशिक्षण दिनेछन्। सहभागितालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले उनिलाई आमन्त्रित गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम जीवन विज्ञान अमेरिका शाखा र पशुपति फाउन्डेशन, लस एन्जलसको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ। कार्यक्रम संयोजनको जिम्मेवारी नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत तथा प्रतिष्ठित उद्यमी रिषी ढकालले लिएका छन्।

यस्ता कार्यक्रमहरूले प्रवासी नेपाली समुदायमा विशेष महत्व राख्ने विश्वास लिइएको छ। कार्य, समयको दबाब, मानसिक तनाव तथा भौतिक मोहजस्ता आधुनिक जीवनशैलीका कारण उत्पन्न असन्तुलनलाई खानपान, व्यायाम र ध्यान साधनाबाट सन्तुलनमा ल्याई जीवनमा आमूल परिवर्तन ल्याउने कार्यक्रमको मूल उद्देश्य रहेकाे छ।

शाखाले विगतका केहि वर्षदेखि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। यस पटकको कार्यक्रम प्रवासी नेपालीहरूको उच्च सहभागिता र चासोका कारण विशेष महत्त्वको रुपमा लिइएकाे छ।

आत्म-जागरण, मानसिक शान्ति र जीवनको गहिरो अनुभूतिमा पुर्‍याउने उद्देश्यले जीवन विज्ञान अमेरिका निरन्तर क्रियाशील रहँदै आएको छ।