अमेरिकाले गर्यो इरानका तीन परमाणु केन्द्रमा आक्रमण
- ०९ असार २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा बम आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य परमाणु केन्द्र फोर्दो, नतान्ज र इस्फहानमा हवाई आक्रमण गरेको पुष्टि गरेका छन्। अमेरिकी आक्रमणले परमाणु केन्द्रहरूमा कति क्षति पुर्याएको छ भन्ने अझै स्पष्ट भएको छैन।
तथापि, आक्रमणपछि तीनवटै आणविक केन्द्र ‘ध्वस्त’ भएको ट्रम्पले दाबी गरेका छन् तर, इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। अमेरिकी हमलाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने विश्लेषकले बताएका छन्। आक्रमणले मध्यपूर्वमा तनाव सिर्जना गरेको छ र इरानको आणविक कार्यक्रमलाई कडा धक्का दिएको छ।
इरानी आणविक केन्द्रहरूमा बी–२ स्टेल्थ बमवर्षकले ‘बंकर बस्टर बम’ र क्रुज मिसाइल प्रयोग गरेर आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा आक्रमणपछि ‘सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेको’ बताएका छन्। आक्रमणले वासिंटनलाई तेहरानसँगको इजरायलको युद्धमा सामेल गराएको छ र मध्यपूर्वका लागि यो एक महत्वपूर्ण क्षण बनेको छ। ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले इरानले चाँडै शान्ति कायम नगरे संयुक्त राज्य अमेरिकाले थप आक्रमण गर्ने चेतावनी दिए। हस्तक्षेपले द्वन्द्वलाई नाटकीय रूपमा फराकिलो बनाउने खतरा निम्त्याएको छ।
अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : इरान
इरानले अमेरिकी आक्रमणलाई गैरकानुनी र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले आक्रमणको निन्दा गर्दै इरानलाई आफ्नो देशको सार्वभौमसत्ताको रक्षा गर्ने अधिकार रहेको बताए। अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई धोका दिएको आरोप लगाउँदै अमेरिकाले ‘दीर्घकालीन परिणाम’ भोग्नुपर्ने चेतावनी दिए।
इरानले आफ्ना नागरिकको सम्प्रभुता र हितका लागि उचित विकल्प अपनाउने उनले चेतावनी दिए। इरानको परमाणु ऊर्जा संस्था आइओआईले पनि परमाणु क्षेत्रमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ। अमेरिकाले परमाणु अप्रसार सन्धिको उल्लंघन गरेको तेहरानको भनाइ छ।
इरानको राष्ट्रिय प्रसारक संस्थाका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि तीनवटै परमाणु केन्द्रहरू खाली गराएको बताए। तेहरानले अमेरिकी आक्रमणपछि ‘प्रदूषणको कुनै संकेत नभएको’ र साउदी नियामकले खाडी क्षेत्रमा कुनै रेडियोधर्मी प्रभाव फेला नपरेको बताएको छ। इरानी मिडियाले फोर्दो प्लान्टको केही भाग र इस्फहान र नातान्ज आणविक स्थलहरूमा आक्रमण भएको पुष्टि गरेका छन्।