न्यूयोर्कमा नेपाल आदिवासी जनजाति महासंघको भव्य साँस्कृतिक साँझ सम्पन्न
- १५ असार २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क — नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) द्वारा आयोजित वृहत आदिवासी जनजाति साँस्कृतिक साँझ न्यूयोर्कको वुडसाईडस्थित गुलशन टेरेस हलमा भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रममा FIPNA का १८ सदस्य संस्थाहरूका प्रतिनिधिहरू सहित विभिन्न नेपाली संघसंस्था तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले विविध जनजातीय परम्परा, भेषभूषा र संस्कृतिको समेटिएको झल्को दिएको थियो।
संस्थाहरूले आ-आफ्नो मौलिक परम्परा झल्काउने नृत्य, गीत र पहिरनसहितको आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रममा FIPNA का वरिष्ठ उपाध्यक्ष पेमालामाले आदिवासी जनजातिहरूको मात्र नभई सम्पूर्ण उत्पीडित समुदायहरूको अधिकारको सवालमा एकताबद्ध आवाज उठाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे।
अध्यक्ष तोरण गुरुङले सबै १८ सदस्य संस्थाहरूको अतुलनीय योगदानको सराहना गर्दै आगामी जुलाई ९ मा आयोजना हुने अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस कार्यक्रममा समेत सबैको सक्रिय सहभागिता र साथका लागि आग्रह समेत गरे।
कार्यक्रममा प्रायोजक, स्वयंसेवक, कलाकार र विभिन्न संस्थाहरुलाई अध्यक्ष गुरुङ र सभामुख भारती राईले सम्मानपत्र प्रदान गर्दै कदर गरेका थिए।
उपस्थित अतिथिहरुलाई क्षेत्रीय उपाध्यक्ष पूर्णबहादुर पाइजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।
अध्यक्ष तोरण गुरुङले सबै सहभागी संस्थाहरू, स्वयंसेवक, कलाकार तथा प्रायोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले संयुक्त रूपमा गरेका थिए भने, सांस्कृतिक सत्रको सञ्चालन महिला उपाध्यक्ष ममता राई र पुनः दाजिमा शेर्पाले गरेका थिए।