न्यूयोर्क— युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका, न्यूयोर्क च्याप्टरद्वारा आयोजित साकेला उभौली पर्व भव्य रुपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा शुभकामना व्यक्त गर्दै महावाणिज्यदूत भण्डारीले अमेरिका बसाइ र व्यस्तता हुँदाहुँदै पनि यस्ता मौलिक सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिए।
कार्यक्रममा संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघकी अध्यक्ष बसन्ती राईले स्वागत मन्तव्य दिएकी थिइन्। साथै, एनआरएनए अमेरिका तथा FIPNA का पूर्वअध्यक्ष एवम् संस्थाका पूर्वसभापति शिवकुमार राईले संस्थाको इतिहास र योगदानबारे जानकारी गराए।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका केन्द्रीय अध्यक्ष तोरण गुरुङले मातृभाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताए। त्यस्तै, नेपालबाट कार्यक्रमका लागि विशेषरूपमा अमेरिका आइपुगेकी संस्थाका केन्द्रीय अध्यक्ष प्रभाकर राईकी आमा लक्ष्मी राईले सबैमा साकेलाको शुभकामना व्यक्त गरिन्।
कार्यक्रमका विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सचिवालय सदस्य राधाकृष्ण देउजाले नेपाली समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै साकेलाको महत्व उल्लेख गरे।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपसभापति डन्डु शेर्पाले नेपाल सरकारले समानुपातिक र समावेशी अधिकारप्रति बेवास्ता गरिरहेको गुनासो गरे। जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकरले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा महिला उपाध्यक्ष लक्ष्मी थापा, संस्थापक अध्यक्ष प्रभाकर राई, तथा संरक्षक विष्णु राईले सन् २००७ देखि संस्थाले भाषा, संस्कृति, र परम्पराको संरक्षणमा खेलेको भूमिका र ‘साल्पा सिलिचुङ’ सम्बन्धी भेटीदान अभियानबारे जानकारी गराए।
संस्थाका केन्द्रीय महासचिव तथा च्याप्टरका पूर्वसभापति ममता खालिङ राईले साकेला पर्वलाई पितृ सम्मान दिवसको रूपमा स्मरण गर्दै शुभकामना व्यक्त गरिन्।

संस्थाका केन्द्रीय उपाध्यक्ष तथा साकेला थान निर्माण संयोजक मुक्ति वान्तवा राईले अमेरिका भरिका पाँच च्याप्टर अन्तर्गत १५ राज्य समेटिएको जानकारी गराउँदै अन्य राज्यमा पनि संस्था विस्तारको प्रयास भइरहेको बताए।
न्युजिल्याण्ड च्याप्टरका उपाध्यक्ष तथा केन्द्रीय सञ्चार संयोजक शेखर राईले नेपालको हिमाल, पहाडदेखि तराईसम्मको विविध सांस्कृतिक सम्पदाको समग्र संरक्षण र नेपालीपनको एकताको पक्षमा बोले।
किराँत राई सोसाइटी अफ न्यूयोर्क च्याप्टरका सभापति सम्भु राईले आयोजकलाई धन्यवाद दिँदै कार्यक्रममा गर्व महसुस भएको बताए।
सो अवसरमा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, शेर्पा किदुङका पूर्व महासचिव सुमदोर्जे शेर्पा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सभापति पुरन पयाङ्गु लिम्बु, वरिष्ठ गायक सपनाश्री, पूर्व उपाध्यक्ष सवनम राई, FIPNA का महासचिव दीपक चौधरी,मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष यम पुन,FIPNA की सचिव शान्ति गुरुङ, कोषाध्यक्ष कृष्ण महर्जन, मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्न सिंह गुरुङ, सामाजिक अभियन्ता तथा अन्तर्राष्ट्रिय रेफ्री पर्खि खालिङ राई
सहितको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वयंसेवक संयोजक जिङ्मी लामा र वरिष्ठ चलचित्र निर्देशक दिनेश लिङदेनलाई विशेष सम्मान प्रदान गरिएको थियो। पाँचथरको याङ्वरक गाउँपालिका–४ स्थायी निवासी निर्देशक लिङदेन विगत २५ वर्षदेखि नेपाली भाषा, संस्कृति र कलाको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
कार्यक्रममा नछुङ धामी पदमबहादुर राईले साकेला पूजा गरी उपस्थित सबैलाई टीका र आशिर्वाद प्रदान गरेका थिए। कार्यक्रमको सम्पूर्ण सञ्चालन महासचिव सिर्जना बहिङले गरेकी थिइन्।