न्युयोर्कमा पहिलो नेपाली फेसन एक्सप्रेसन कार्यक्रम भव्यरूपमा सम्पन्न
- १८ असार २०८२
- १ मिनेटको पढाई
ज्याक्सन हाइट्स, न्युयोर्क- अमेरिकाको फेसन राजधानी मानिने न्युयोर्क शहरमा पहिलोपटक नेपाली संस्कृति, पहिरन, कला र उत्पादनलाई समेटिएको भव्य फेसन कार्यक्रम “नेपाली फेसन एक्सप्रेसन” सम्पन्न भएको छ।
ज्याक्सन हाइट्सको उडसाइडस्थित “द प्यालेस” हलमा आयोजित सो कार्यक्रम साँझ ७ बजेदेखि मध्यरातसम्म करिब २०० दर्शक-श्रोताको उपस्थितिमा निकै उत्साहजनक रूपमा सम्पन्न भयो। कार्यक्रमले नेपालकै झल्को दिने वातावरण सिर्जना गरेको सहभागीहरूको अनुभव थियो।
कार्यक्रममा विविध जातजाति र समुदायका प्रतिनिधि २७ प्रकारका परम्परागतदेखि आधुनिक नेपाली पहिरनमा सजिएर र्याम्पमा प्रस्तुत भए। संगीतको तालमा मोडलहरूको आकर्षक प्रस्तुतिले हल ताली र हर्षध्वनिले भरिएको थियो।
कार्यक्रमका प्रमुख आयोजक तथा इभेन्ट प्रेसिडेन्ट, नेपालका चर्चित नायक, मोडल र कोरियोग्राफर प्रशान्त ताम्राकारले कार्यक्रममा नेपालभित्रका सबै फेसन शैलीहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय रूपमा नेपाली कला र पहिचान प्रवर्द्धन गर्ने उद्देश्य सफल भएको बताउनुभयो।
कार्यक्रम संयोजक सूर्य सिंखडाले सो ऐतिहासिक फेसन मेलालाई अमेरिकामै पहिलोपटक यसरी भव्य रूपमा सम्पन्न गर्न पाउँदा आफू तथा सम्पूर्ण आयोजक टिम अत्यन्त हर्षित रहेको प्रतिक्रिया दिनुभयो।
कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका विविध भेषभूषा प्रस्तुत गर्ने २७ भन्दा बढी मोडलहरूको सहभागिताले कार्यक्रमलाई विविध सांस्कृतिक रंगमा रंगायो।
कार्यक्रमको समापनमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरियो भने विविध सांस्कृतिक प्रस्तुति र रात्रीभोजको समेत व्यवस्था गरिएको थियो।