२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

टेक्सासको बाढीमा २४ जनाको मृत्यु, २० भन्दा बढी हराएका बालबालिकाको खोजी जारी

टेक्सासको बाढीमा २४ जनाको मृत्यु, २० भन्दा बढी हराएका बालबालिकाको खोजी जारी

टेक्सास- टेक्सासको हिल काउन्टी क्षेत्रमा आएको भीषण बाढीमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ भने बालबालिकाहरू सहभागी एक शिविरबाट २० भन्दा बढी बेपत्ता भएका छन्। शुक्रबार बिहान भारी वर्षापछि ग्वाडालुपे नदीमा आएको बाढीले केर काउन्टी लगायतका क्षेत्रहरूमा ठूलो विनाश ल्याएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

बेपत्ता भएका अधिकांश बालबालिका ‘क्याम्प मिस्टिक’ नामक एक बालिका शिविरका हुन्, जहाँ ७५० बालिकाहरू सहभागी थिए। उद्धार टोलीले हेलिकप्टर तथा सवारीसाधनमार्फत धेरै बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याएको छ। २३ देखि २५ जना शिविरका बालबालिका अझै सम्पर्कविहीन छन्।

टेक्सासका गभर्नर ग्रेग एबटले यस घटनालाई “असाधारण विपत्ति” भन्दै उद्धार कार्य निरन्तर जारी रहने बताएका छन्। टेक्सास गार्ड, प्रहरी, तटरक्षक बल र संघीय आपतकालीन व्यवस्थापन निकायसमेत उद्धार कार्यमा खटिएका छन्।

बाढीले सडक, घर, संरचना नष्ट पारेको छ। केही क्षेत्रमा बिजुली, इन्टरनेट र पानी आपूर्ति बन्द भएको छ। ग्वाडालुपे नदी केही स्थानमा आधा घण्टामा २२ फिटसम्म बढेर ३० फिट पुगेको थियो, जुन अघिल्लो कीर्तिमानभन्दा धेरै हो।

एक जना बाँच्न सफल व्यक्ति भन्छन्, “हामीले सबै गुमायौं।” अर्का व्यक्तिका अनुसार उनका दाजुको घर, दाजु, भाउजु र दुई सन्तान सबै हराएका छन्।

शिविर व्यवस्थापनले अभिभावकलाई सूचित गर्दै सुरक्षित भेटिएका बालिकाको जानकारी दिइसकेको बताएको छ। टेक्सासका उपगभर्नर ड्यान प्याट्रिकले अझै सम्पर्कविहीन बालबालिकाहरू जीवितै रूख वा अन्यत्र सुरक्षित हुन सक्ने आशा व्यक्त गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

राज्यभर बाढीको जोखिम अझै कायम रहेको भन्दै वीकएन्डभर उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान विभागले आग्रह गरेको छ। राष्ट्रपति ट्रम्पले टेक्सासलाई आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यसैबीच, टेक्सासका सिनेटर टेड क्रुज, लिना हिडाल्गो लगायतका नेताहरूले शोक, प्रार्थना र सहयोगको आह्वान गरेका छन्।