२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

काठमाडौं –  क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबीच चलचित्र निर्माण गर्न लागिएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए। क्याप्टेन थापाको जीवनीको उतारचढावलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिने निर्देशक खनालको भनाइ छ।

उनले भने, ‘नियमित बनिरहेका भन्दा फरक शैलीको चलचित्र दर्शकमाझ ल्याउने कोसिस गर्दैछौं। आकाशमा भोग्ने चुनौती, यात्राको भोगाइ र व्यावसायिक जीवनलाई समेटेर चलचित्रलाई रोचक बनाउने प्रयास रहनेछ।’

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिए। आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गर्नुहुने छ।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ।