सुष्मा कार्कीद्धारा एनआरएनए एनसीसी अमेरिका न्यूयोर्क च्याप्टरको महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा
- २६ असार २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- एनआरएनए एनसीसी अमेरिका, न्यूयोर्क च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सुष्मा कार्कीले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
न्यूयोर्कमा सक्रिय गैरआवासीय नेपाली समुदायलाई सम्वोधन गर्दै उनले समाजसेवामा आफ्नो लामो अनुभव, पारदर्शी नेतृत्व र सहकार्यको अभ्यासलाई आगामी कार्यकालमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता जनाएकी छिन्।
“हामी नेपालीले संस्कार, भाषा र संस्कृतिको सम्मान गर्दै विदेशी भूमिमा पहिचान जोगाइरहेका छौं। अब नयाँ पुस्ताको नेतृत्व विकास र महिलाहरूको सहभागिता अझ सशक्त बनाउने समय आएको छ,” कार्कीले भनिन्।
उनको प्रमुख एजेन्डामध्ये न्यूयोर्कमा एनआरएनए च्याप्टरको स्थायी कार्यालय स्थापना पहिलो प्राथमिकतामा रहेको छ। त्यसका लागि पारदर्शी ढंगले दीर्घकालीन फण्ड संकलन प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।
महिला सशक्तिकरण र नेतृत्व विकासमा लामो समयदेखि क्रियाशील कार्कीले नेपाली महिलाहरूको आवाज बुलन्द बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेकी छन्।
“म तपाईंहरूसँग संवाद, एकता र पारदर्शी नेतृत्वमा विश्वास गर्छु,” उनले भनिन्, “तपाईंहरूको साथ, सहयोग र अमूल्य मतले मलाई हाम्रो समुदायको सेवा गर्ने अवसर प्राप्त हुनेछ भन्ने पूर्ण आशा लिएकी छु।”
उनले समस्त न्यूयोर्क निवासी गैरआवासीय नेपालीहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न अपील गर्दै आगामी निर्वाचनमा मतदान गरी जिताउन आह्वान गरेकी छन्।
