२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

डेमोक्र्याटिक रणनीतिकारको खुलासा : “आर्थिक मन्दी आए मात्र पार्टी जोगिन्छ”

डेमोक्र्याटिक रणनीतिकारको खुलासा : “आर्थिक मन्दी आए मात्र पार्टी जोगिन्छ”

न्युयोर्क — राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचनपछि लगातार खस्कँदै गएको जनसमर्थनसँग जुझिरहेको डेमोक्र्याटिक पार्टीभित्रबाट नै अब पार्टी बचाउन आर्थिक मन्दीको कामना गर्नुपर्ने धारणा सार्वजनिक भएको छ।

The Hill मा प्रकाशित एक रिपोर्टमा डेमोक्र्याटिक पार्टीका कतिपय रणनीतिकारहरू “आशा त्यागेर अब देश आर्थिक मन्दीमा जाओस्” भन्ने तहमा पुगिसकेको जनाइएको छ। एक अज्ञात रणनीतिकारले भनेका छन्, “हामी अहिले यति भयावह अवस्थामा छौं कि अब गहिरो आर्थिक मन्दीको प्रार्थना गर्नु बाहेक कुनै विकल्प छैन।”

रिपोर्ट अनुसार, पार्टीको समर्थन ऐतिहासिक रूपमा न्यून छ। ट्रम्पको पुनः सत्ता प्राप्तिपछि पार्टी राष्ट्रिय नेताको अभाव, कमजोर रणनीति र “जनचासोबाट टाढा भएको” छवि झनै उग्र बनेको छ।

Democratic Super PAC ‘Unite the Country’ द्वारा मे-जुन महिनामा गरिएको एक सर्वेक्षणले अधिकांश मतदाताले डेमोक्र्याटहरूलाई “कमजोर”, “अप्रासंगिक” र “वोक (woke)” भन्दै आलोचना गरेको देखाएको थियो।

प्याकका वरिष्ठ सल्लाहकार रोडेल मोलिनेओले भने, “हामी अहिले राजनीतिक अँध्यारोमा छौं, यो अवस्थामा प्रभावकारी सन्देश दिन कठिन हुन्छ।”

प्रसिद्ध उद्यमी मार्क क्युबनले Pod Save America पोडकास्टमा डेमोक्र्याटहरूको रणनीतिक कमजोरी औंल्याउँदै भने, “उनीहरूको सम्पूर्ण अभियान ट्रम्पविरुद्ध मात्र केन्द्रित छ – ‘ट्रम्प सक्स।’ तर जनतालाई यो चाहिएको होइन। उनीहरूलाई चाहिएको हो – समाधान र सहजीकरण।”

रणनीतिकार ब्राड ब्याननले भने, “हामी अझै त्यही दलदलमा फसेका छौं जुनमा ट्रम्प पदासीन हुँदा थियौं।” तर उनले ट्रम्पको विवादास्पद विधेयक “One Big Beautiful Bill” का असरहरू — मेडिकेड कटौती, उच्च ट्यारिफ करहरू र व्यापक निर्वासन कार्यक्रमहरू — लाई विपक्षी हतियारको रूपमा प्रयोग गर्न सकिने बताए।

“अब विपक्षसँग नयाँ आधार निर्माण गर्ने औजारहरू छन्,” ब्याननले भने।

पूर्व शिकागो मेयर रहम इमानुएलले CNN मा पार्टीको दयनीय स्थितिप्रति चिन्ता व्यक्त गर्दै भने, “डेमोक्र्याटिक पार्टी अहिले एलन मस्कभन्दा पनि कम लोकप्रिय छ। यो आफैँमा चेतावनी हुनु पर्छ।”

डेमोक्र्याटिक पार्टीभित्र गहिरो असन्तोष, नेतृत्वको अभाव, कमजोर सन्देश र रणनीतिक दिशाहीनताले गर्दा अब केही रणनीतिकारसम्म “देश डुबोस् भने पार्टी बाँच्ला” भन्ने अवस्थासम्म पुगेका छन्। आगामी महिनाहरूमा पार्टीले आत्मसमीक्षा गर्दै जनचासो र विश्वास फर्काउने रणनीति नअपनाए अर्को निर्वाचनमा थप क्षति व्यहोर्नु पर्ने प्रक्षेपण गरिएको छ।