लगनखेलको बसपार्कमा ‘होटल नमूना’ सञ्चालन, पहिलो सेवाग्राही नै चिनियाँ नागरिक
- ३१ असार २०८२
- २ मिनेटको पढाई
काठमाडौं – ललितपुर महानगरपालिकाको लगनखेल बसपार्क नजिकै ‘होटल नमूना’ सञ्चालनमा आएको छ। सोमबार ग्राण्ड ओपनिङ समारोहमा प्रमुख अतिथि संघीय सांसद प्रेम बहादुर महर्जनले होटल एण्ड क्याफेको उद्घाटन गरेका हुन्। कार्यक्रममा बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठ, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, कलाकार केदार घिमिरे ‘उर्फ ‘माग्ने बुढा’ लगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्वदेशमै युवालाई रोक्न भूमिका खेलेको भन्दै धन्यवाद दिए । उनीहरुले देशको आर्थिक समृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय तथा उद्यमशीलताको प्रवर्द्धनमा जोड दिएका छन्। वक्ताहरुले भने, “स्थानीय तहमा यस्ता व्यावसायिक लगानीहरूले मात्र देशको आर्थिक आधार मजबुत बन्नेछ। उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बेला आएको छ।”

कार्यक्रममा होटल सञ्चालक भीम श्रेष्ठले विगत १६ वर्षदेखि सञ्चालनमा रहेको होटललाई विशिष्ट सेवा दिने उद्देश्यसहित नजिकैको घरमा नयाँ होटल स्थापना गरिएको जानकारी दिए। उनले होटलको पहिलो पाहुनाका रुपमा चिनियाँ नागरिकले सेवा लिएको बताए।
क्याफेसहितको सेवा रहेको उक्त होटरमा एक मिटिङ हल र १५ वटा एट्याच बाथरुम, एसीसहितको लजको सुविधा रहेको छ। श्रेष्ठका अनुसार होटल नमूनालाई स्थानीय रोजगारी सिर्जना, युवा उद्यमशीलताको प्रवर्द्धन र गुणस्तरीय सेवा व्यवसायको नमूना बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको हो।
“हामीले होटलमार्फत दक्ष र अर्धदक्ष स्थानीय युवाहरूलाई रोजगारी र स्वरोजगारी दिने अवसर सिर्जना गरेका छौं,” श्रेष्ठले भने, “व्यवसाय भनेको केवल नाफाको विषय मात्र होइन, समुदायसँग जोडिने अवसर पनि हो। हामी गुणस्तरीय सेवा दिन्छौं।”

व्यस्त व्यापारिक केन्द्र लगनखेलको मागलाई सम्बोधन गर्दै होटलले आवास, खानपिन, मिटिङ र कार्यक्रमस्थलको सुविधा उपलब्ध गराउने जनाएको छ।
स्थानीय स्रोत साधन र जनशक्ति प्रयोग गर्दै सञ्चालनमा ल्याइएको यस होटलले स्थानीय अर्थतन्त्रलाई सघाउने, उद्यमशीलताको नयाँ प्रेरणा दिने र व्यवसायिक वातावरण विस्तार गर्न योगदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा व्यापारी, उद्योगपति, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

