लुइजियाना टेक विश्वविद्यालयका दुई नेपाली विद्यार्थीको सवारी दुर्घटनामा निधन
- ३१ असार २०८२
- १ मिनेटको पढाई
रस्टन, लुइजियाना — लुइजियाना टेक विश्वविद्यालयले आइतवार राति दुःखद रूपमा दुई अन्तर्राष्ट्रिय विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु भएको पुष्टि गरेको छ। विश्वविद्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा थप दुई विद्यार्थी गम्भीर घाइते भएका छन् र अहिले अस्पतालमा उपचाररत छन्।
दुर्घटनामा नेपाली मूलका २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओली को घटनास्थलमै मृत्यु भएको लुइजियाना स्टेट पुलिस ट्रुप एफ ले जनाएको छ। दुर्घटना जुलाई १३ तारिख साँझ ९:०० बजेअगाडि अमेरिकी राजमार्ग ८० को लुइजियाना राजमार्ग ५०७ को पश्चिमतर्फ भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार, रजन यादवले चलाएको सन् २०१० को होन्डा एकॉर्ड कार भारी वर्षाका बीच पूर्वतर्फ गइरहेको थियो। सो क्रममा कार सडकको दाहिने किनारतिर जाँदा रुखमा ठोक्किएको र त्यसपछि कारमा आगलागी भएको बताइएको छ। गाडीभित्र रहेका यादव र ओलीको घटनास्थलमै निधन भएको थियो। बाँकी दुई जना विद्यार्थीलाई गम्भीर अवस्थामै नजिकको अस्पताल पुर्याइएको छ।
कारमा सीटबेल्ट प्रयोग गरिएको थियो वा थिएन भन्ने हालसम्म स्पष्ट छैन।
विश्वविद्यालयको शोक सन्देश
लुइजियाना टेक विश्वविद्यालयका अध्यक्ष ड. जिम हेन्डरसन ले एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरे:
“हामीले दुःखद रूपमा दुई अन्तर्राष्ट्रिय विद्यार्थी गुमाएका छौँ। लुइजियाना टेक परिवार यो अपूरणीय क्षतिबाट स्तब्ध र शोकाकुल छ। हामी घाइते विद्यार्थीहरू र तिनीहरूका परिवारसँग संवेदना प्रकट गर्छौँ।”
विद्यार्थी सहयोग र स्मृति कार्यक्रम
विश्वविद्यालयले काउन्सेलिङ सेवामार्फत दुःख व्यवस्थापनमा सहयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा संकलन गरिएका टोक्सिकोलोजी नमूना परीक्षणका लागि पठाइएको छ।
स्व. रजन यादव र रोजिन ओलीप्रति हार्दिक श्रद्धाञ्जली।
परिवारजन, साथीभाइ र सम्पूर्ण नेपाली समुदायमा हार्दिक समवेदना।